प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन सुरु ग¥यो, ६.२५ प्रतिशत ब्याज पाइने

काठमाडौं, १६ असार । प्राइम कमर्सियल बैंक लिमिटेडले मंगलबारदेखि कुल ३ अर्ब रुपैयाँबराबरको ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता ऋणपत्र जारी गरेको हो।

निष्कासित कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री गरिने बैंकले जनाएको छ। सार्वजनिक निष्कासनअन्तर्गतको कुल परिमाणमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्टादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

इच्छुक लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। बैंकका अनुसार यो ऋणपत्र निष्कासन छिटोमा असार १९ गते बैंकिङ समयपछि बन्द हुनेछ भने आवश्यक आवेदन नपरेमा ढिलोमा असार ३० गतेसम्म खुला रहनेछ।

उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले पाएको छ। प्राइम कमर्सियल बैंकले नेपाल धितोपत्र बोर्डबाट असार ३ गते ऋणपत्र निष्कासनका लागि स्वीकृति प्राप्त गरेको थियो।