इस्तानबुलमा नाटो संसदीय सम्मेलन शुरुः रक्षा लगानी र सुरक्षा चुनौतीमा केन्द्रित

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का संसदीय नेतृत्वकर्ताहरूको दुई दिने शिखर सम्मेलन सोमबार टर्कीको इस्तानबुलमा शुरु भएको छ । आगामी साता अंकारामा हुने नाटो सदस्य राष्ट्रका प्रमुखहरूको बैठकको पूर्वसन्ध्यामा आयोजित यस सम्मेलनमा रक्षा लगानी सुदृढ गर्ने र सुरक्षा चुनौतीहरूको सामना गर्ने विषयमा जोड दिइएको छ । सम्मेलनमा नाटोका ३२ सदस्य राष्ट्रका संसदका सभामुख तथा प्रतिनिधिमण्डलका प्रमुखहरू सहभागी भई विद्यमान सुरक्षा मुद्दाहरूमा छलफल गरिरहेका छन् ।

बैठकको उद्घाटन गर्दै नाटो संसदीय सभाका अध्यक्ष मार्कोस पेरेस्त्रेलोले रक्षा लगानी अभिवृद्धि गर्न र गठबन्धनको सुरक्षा प्राथमिकताहरू कार्यान्वयन गर्न राष्ट्रिय संसदहरूको भुमिका निर्णायक हुने बताउनु भयो । उहाँले सदस्य राष्ट्रहरूलाई स्मार्ट, द्रुत र समन्वयात्मक लगानीका लागि आग्रह गर्दै नाटोलाई थप शक्तिशाली बनाउन केवल खर्च वृद्धि मात्र पर्याप्त नहुने उल्लेख गर्नुभयो ।

नाटोकी उपमहासचिव राडमिला शेकिरिन्स्काले जुलाई ७ र ८ मा अंकारामा हुने नाटो शिखर सम्मेलनले गठबन्धनको सामूहिक रक्षा तयारी र सङ्कल्प प्रदर्शन गर्ने मञ्चका रूपमा काम गर्ने जानकारी दिनुभयो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै टर्कीको संसदका सभामुख नुमान कुर्तुल्मसले मध्यपूर्वमा शान्ति कायम नभई विश्व शान्ति सम्भव नहुने तर्क गर्नुभयो । उहाँले यस क्षेत्रमा स्थिरता पुनस्र्थापनाका लागि नाटो सदस्य राष्ट्रहरूले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सभामुख कुर्तुल्मसले गाजामा इजरायली सैन्य कारबाहीले ’नरसंहार’को रूप लिएको टिप्पणी गर्दै तत्काल युद्धविरामका लागि आह्वान गर्नुभयो । प्यालेस्टाइन समस्याको दीर्घकालीन समाधानका लागि दुई–राज्य समाधान अनिवार्य रहेको उहाँको भनाइ थियो । यसैगरी, उहाँले अमेरिका र इरानबीचको तनाव कम गर्न भएका हालैका सकारात्मक विकासक्रमको स्वागत गर्दै विश्व सुरक्षाका लागि स्थायी शान्ति स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।