
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी आतंकवाद नियन्त्रणका लागि निवारण, सहकार्य, प्रविधि र मूल्य–मान्यता गरी चारवटा मुख्य प्राथमिकताहरूमा जोड दिनुभएको छ । सदस्य राष्ट्रका आतंकवाद विरोधी निकायका प्रमुखहरूको चौथो उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो ।
सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले विश्वव्यापी आतंकवाद विरुद्धको प्रतिकार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । उहाँले आतंकवादी समूहहरूले बदलिँदो परिस्थितिअनुसार आफूलाई अनुकूलित गर्दै लगेको र नयाँ प्रविधिको दुरुपयोग गरी आर्थिक स्रोत जुटाउने तथा भर्ना प्रक्रियालाई सहज बनाएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
महासचिव गुटेरेसका अनुसार अपराधिक सञ्जालहरूले नगद र हतियारको प्रवाहलाई तिब्र बनाएका छन् । जसमा हाल घातक ड्रोनहरूको प्रयोग समेत बढ्दै गएको छ ।


गुटेरेसले आतंकवादलाई जरैदेखि निर्मूल पार्न अन्तर्राष्ट्रिय समुदायले यसका आधारभूत कारणहरूलाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले गरिबी, भेदभाव, अधिकारबाट वञ्चितीकरण र मानव अधिकारको उल्लंघन जस्ता समस्याहरूले नै आतंकवादलाई मौलाउने अवसर प्रदान गर्ने बताउनु भयो ।

संयुक्त राष्ट्र संघमा जारी ‘२०२६ आतंकवाद विरुद्धको सप्ताह’ अन्तर्गत आयोजित यस दुई दिने उच्चस्तरीय सम्मेलनको मुख्य विषय ‘आतंकवादमुक्त भविष्यः सदस्य राष्ट्रहरूको नेतृत्व र कार्यमार्फत आतंकवाद विरुद्ध बहु–सरोकारवाला दृष्टिकोणमा विश्वव्यापी प्रतिवद्धताको सुदृढीकरण’ रहेको छ । सम्मेलनमा विभिन्न देशका आतंकवाद विरोधी निकायका प्रमुख तथा विशेषज्ञहरूको सहभागिता रहेको छ ।




