वारेन बफेटले रोके गेट्स फाउन्डेसनलाई दिने अर्बौँ डलरको दान

काठमाडौँ । वारेन बफेटले यस वर्ष गेट्स फाउन्डेसनलाई दिने नियमित मध्यवर्षीय अर्बौँ डलरको दान हाललाई रोकेको बताएका छन् ।

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार बफेट फाउन्डेसन र दिवंगत यौन अपराधी जेफ्री एपस्टिन बीचको सम्बन्धबारे भइरहेको बाह्य समीक्षाको प्रतिवेदन पर्खिरहेका छन् ।

रिपोर्टमा भनिएअनुसार गेट्स फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत मार्क सुजम्यानले एपस्टिनसँग जोडिएका फाउन्डेसनका पुराना सम्पर्कबारे स्वतन्त्र छानबिन गराएका छन् । उक्त प्रतिवेदन गर्मीयामभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ। बफेटले दानसम्बन्धी अन्तिम निर्णय वर्षको अन्त्यतिर, सम्भवतः आफ्नो धन्यवाद दिवससम्बन्धी वार्षिक पत्र सार्वजनिक गर्ने समयमा लिने बताइएको छ ।

९५ वर्षीय बफेटले पछिल्ला दुई दशकमा बर्कशायर हाथवेका ४७ अर्ब डलरभन्दा बढी मूल्यका सेयर गेट्स फाउन्डेसनलाई दान गरिसकेका छन् ।

अमेरिकी न्याय विभागले सार्वजनिक गरेका केही इमेलमा एपस्टिन र फाउन्डेसनका कर्मचारीबीच संवाद भएको उल्लेख भएपछि गेट्स फाउन्डेसन विवादमा तानिएको थियो। त्यसपछि फाउन्डेसनले पुराना सम्बन्धबारे स्वतन्त्र समीक्षा सुरु गरेको जनाएको छ ।