काठमाडौ – एमाले अध्यक्ष झलनाथ खनालले दुई दिने हात्तीवनको बसाईले संविधान निर्माणका विवादित पाँच मुद्दामा घनिभूत छलफल भएको वताएका छन् । उक्त छलफलको क्रममा राज्यपुनर संरचना गर्दा ६ देखि ८ वटा प्रदेश वनाउँदा प्रदेशहरु दिगो र टिकाउ हुन सक्ने विचार प्रस्तुत भएको उनको दावी छ ।
शान्ति र संबिधान निर्माणमा सुझाब लिन थालिएको बिषेश टेलिफोन सम्वादको दशौ दिन मंगलबार मध्यमश्चिमको दुर्गम जिल्ला जाजरकोटका राजनीतिक दल, नागरिक समाज, बुद्धीजीवि, महिला र दलित प्रतिनिधिसंगको सम्बादमा उनले यस्तो खुलासा गरेका हुन् ।
अध्यक्ष खनालले दुई दिनको हात्तीवन रिसोर्टको बैठक निकै उपलब्धिमूलक भएको भन्दै अवको बसाईमा विवादित बिषयमा सहमति हुने बिश्वास ब्यक्त गरे । निर्बाचन प्रणाली, शासकीय स्वरुप, न्यायप्रणाली र नागरिकताका सवालमा सहमतिको निकट रहेको जनाउँदै उनले प्रदेश निर्माणको सवालमा आफुहरु सहमतिमा पुग्ने दावी गरे ।
शान्ति प्रक्रियामा पछिल्लो समय भएको प्रगतिले संबिधानका विवादित बिषयमा सहमति गर्न सहज बनाएको अध्यक्ष खनालको भनाई थियो । उनले एमाले जाजरकोटका अध्यक्ष डम्बरबहादुर सिंह, बुद्धिजीवि तथा भेरी ज्ञानोदय क्याम्सका प्रमुख मोहनबिक्रम शाह, महिला नेतृहरु कौशिलावती खत्री र रिता रावल, पूर्व जिल्ला किश समिती जाजरकोटका सभापती भैरबसुन्दर श्रेष्ठ,पत्रकार बिरबहादुर गिरी, बुद्धीजिबी लालबहादुर महत्तरा, दलित प्रतिनिधी गोपाल नेपाली, जनजातिका दलबहादुर घर्ती तथा गैर सरकारी संस्था महासंघ जाजरकोटका अध्यक्ष खिमबहादुर शाहीसंग सुझाब लिए ।
सुझाव दिनेहरु सबैले अबको संघीय ब्यवस्थामा जिल्लास्तरको अस्तित्व समाप्त गर्न नहुने भन्दै चिन्ता प्रकट गरेका छन् । – कान्तिपुर



