
काठमाडौं, असार १६ — नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बजार तीव्र रूपमा विस्तार भइरहेका बेला जगदम्बा मोटर्स प्रालिले प्रोटोन e.MAS 5 नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीका अनुसार यो आफ्नै वर्गमा नेपालको पहिलो रियर–ह्विल–ड्राइभ (Rear-Wheel Drive) कम्प्याक्ट विद्युतीय एसयूभी हुनेछ।
नेपालमा प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ e.MAS 5 आधुनिक प्रविधि, उच्च कार्यसम्पादन, सुरक्षा र दैनिक प्रयोगको सहजतालाई प्राथमिकतामा राखेर विकास गरिएको हो।

कम्पनीका अनुसार रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस विद्युतीय एसयूभीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ अनुभव, उच्च स्थिरता तथा सहज नियन्त्रणको सुविधा रहनेछ। यी विशेषताले नेपालको शहरी सडकदेखि राजमार्ग र पहाडी भेगसम्मका विविध सडक अवस्थाका लागि यसलाई उपयुक्त बनाउने कम्पनीको दाबी छ।


शंकर समूहअन्तर्गत रहेको जगदम्बा मोटर्सले विश्वस्तरीय विद्युतीय सवारीसाधन नेपाली बजारमा भित्र्याउँदै दिगो तथा वातावरणमैत्री यातायात प्रणालीको प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता निरन्तर कायम राखेको जनाएको छ। कम्पनीले देशभर फैलिएको बिक्री तथा सेवा सञ्जाल, ग्राहककेन्द्रित सेवा र बिक्रीपछिको सहयोगलाई थप सुदृढ बनाउँदै नेपाली ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।
कम्पनीका अनुसार प्रोटोन e.MAS 5 सम्बन्धी प्राविधिक विवरण, प्रमुख विशेषता, मूल्य, बुकिङ प्रक्रिया तथा औपचारिक सार्वजनिक कार्यक्रमको मिति आगामी केही साताभित्र सार्वजनिक गरिनेछ।





