आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली चिया निर्यातमा भारतीय पक्षबाट हुँदै आएको अवरोध अन्ततः हटेको छ । आज देखि चिया निकासी पुनः सुचारु भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गुणस्तर परीक्षणको बहाना बनाउँदै भारतले नेपाली चिया निकासी रोकेपछि विगत केही समयदेखि ठुलो विवाद सिर्जना भएको थियो। निर्यात ठप्प भएपछि झापाका ३० वटा सीटीसी र इलामका ६५ वटा अर्थोडक्स चिया उद्योगहरू गत असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुन पुगेका थिए । चिया क्षेत्रमा देखिएको संकटप्रति सरकारले विशेष चासो देखाउदै कुटनीतिक माध्यमबाट तत्कालका लागि परिवर्तित गुणस्तर परीक्षणको नियम लागु नगर्ने सहमति भएको बताइएको छ ।  उद्योग मन्त्रालयका अनुसार अब उप्रान्त गुणस्तर परीक्षण वा अन्य कुनै पनि बहानामा नेपाली चिया निकासीमा अवरोध नहुने सहमति बनेको छ। अवरोध हटेसँगै अवरुद्ध चिया निर्यात सुचारु भएको छ र बन्द भएका भएका ९५ वटा चिया उद्योगहरू पनि पुनः सञ्चालनमा आउने भएका छन् ।

२- यस वर्षको मनसुन प्रणाली मंगलबारदेखि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार मनसुन आगमनसम्बन्धी बुलेटिन जारी गर्दै असार १६ गते (आज) देखि मनसुन देशका सबै भूभागमा विस्तार भएको जानकारी दिएको हो । महाशाखाका अनुसार यस वर्षको मनसुन असार ५ गते पूर्वी नेपालबाट प्रवेश गर्दै कोशी प्रदेशको केही क्षेत्रमा फैलिएको थियो । त्यसपछि असार ८ गतेसम्म कोशी प्रदेशको बाँकी भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुन विस्तार भएको थियो । नेपालमा सामान्यतया जुन १३ तारिखतिर पूर्वी भूभागबाट मनसुन प्रवेश गर्ने र करिब एक साताभित्र देशभर फैलिने गर्छ । तर यस वर्ष मनसुन औसत समयभन्दा ६ दिन ढिलो नेपाल प्रवेश गरेको थियो । देशभर मनसुन विस्तार हुन भने यस वर्ष १२ दिन लागेको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम अवस्थाको निरन्तर अनुगमन भइरहेको जनाएको छ । मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गरिने भएकाले सबैलाई आधिकारिक मौसम सूचना हेरेर आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेसनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम बुधबार हुने भएको छ । बुधबार बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा शपथ कार्यक्रम हुने भएको हो । चितवनमा सम्पन्न महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्रीसहित ९९ केन्द्रीय सदस्य निर्वाचित गरेको थियो । १५८ सदस्यीय रास्वपाको केन्द्रीय समितिमा अब सभापति रवि लामिछानेले ५१ सदस्य मनोनित गर्ने छन् भने सात प्रदेशका सभापति केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ । त्यस्तै सभापति लामिछानेले विधान अनुसार पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, २ सहमहामन्त्री, कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, प्रवक्ता र ३ सहप्रवक्ता मनोनित गर्ने छन् ।

४- नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फरेन्सिक प्रयोगशालालाई डिजिटल फरेन्सिकसम्बन्धी अत्याधुनिक सफ्टवेयर, हार्डवेयर तथा अन्य प्राविधिक उपकरण हस्तान्तरण गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा ती उपकरण हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फरेन्सिक प्रयोगशालाको क्षमता अभिवृद्धिका लागि आधुनिक उपकरण, विशेष सफ्टवेयर तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे। उनले यस्तो सहयोग नेपाल र अमेरिकाबीचको विश्वास, मित्रता तथा साझा प्रतिबद्धताको प्रतीक भएको बताए । उनले हस्तान्तरण गरिएका आधुनिक उपकरणबाट डिजिटल फरेन्सिक प्रयोगशालाको क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गरे। ती उपकरणको प्रयोगबाट डिजिटल प्रमाण संकलन, संरक्षण तथा विश्लेषण अझ प्रभावकारी हुने, प्रविधिसम्बन्धी अपराध अनुसन्धानमा सहजता आउने र आपतकालीन अवस्थामा आवश्यक प्रमाण छिटो संकलन गर्न सहयोग पुग्ने उनले बताए । कार्यक्रममा अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले हस्तान्तरण गरिएका उपकरणले नेपाल प्रहरीको डिजिटल फरेन्सिक प्रयोगशालाको क्षमता विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले आधुनिक प्रविधिको प्रयोगले अपराध अनुसन्धान र प्रमाण संकलनलाई अझ प्रभावकारी बनाउने बताए । उक्त कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारी र अमेरिकी दूतावासका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

५- कतारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुशनर दोहा आइपुगेको जनाएको छ । तर उनीहरूको इरानी अधिकारीसँग प्रत्यक्ष भेटवार्ता नहुने स्पष्ट पारेको छ । कतारका अनुसार दुवै अमेरिकी प्रतिनिधिले कतारी अधिकारीसँग भेट गरी अमेरिका-इरानबीच जारी वार्तालाई अगाडि बढाउने विषयमा छलफल गर्नेछन् । उनीहरूले कतारको मध्यस्थतामार्फत दुवै देशबीच संवादलाई निरन्तरता दिने प्रयास गर्नेछन् । कतारले आफ्नो देशमा रोकिएको इरानको ६ अर्ब अमेरिकी डलर बराबरको रकम अझै तेहरान नपठाइएको स्पष्ट गरेको छ । ह्वाइट हाउसका एक अधिकारीका अनुसार स्टिभ विटकफ र जेरेड कुशनरले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानी तथा अन्य मध्यस्थकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैगरी, अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच कतार र पाकिस्तानका मध्यस्थकर्ताको उपस्थितिमा प्राविधिक तहको वार्ता हुनेछ । यद्यपि दुवै पक्ष आमनेसामने बसेर छलफल गर्ने छैनन् । मध्यस्थकर्तामार्फत अलग-अलग रूपमा वार्ता अघि बढाइने जनाइएको छ । यसअघि पनि कतारले अमेरिकी र इरानी प्रतिनिधिबीच प्रत्यक्ष भेटवार्ता नहुने स्पष्ट पारिसकेको थियो । इरानले विदेशमा रोकिएको आफ्नो सम्पत्ति फिर्ता गर्नुपर्ने विषयलाई अमेरिकासँगको समझदारीको प्रमुख सर्त बनाएको छ । इरानले आफ्नो रकम फुकुवा नभएसम्म शान्ति सम्झौतासम्बन्धी प्रक्रिया अगाडि नबढाउने अडान लिएको छ । इरानी अधिकारीहरूका अनुसार यो सर्त समझदारीपत्रमा समावेश गरिएको छ । सम्झौताको धारा ११ मा विदेशमा रोकिएको इरानी सम्पत्ति फुकुवा गर्ने व्यवस्था गरिएको बताइएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले कतारमा रोकिएको इरानको १२ अर्ब अमेरिकी डलरमध्ये ६ अर्ब डलर फुकुवा गर्न अमेरिका सहमत भएको बताएका छन् । इरानले उक्त रकम आफ्नै सम्पत्ति भएको र अमेरिकी प्रतिबन्धका कारण वर्षौंदेखि विदेशमा रोकिएको दाबी गर्दै आएको छ । त्यसैले सबैभन्दा पहिले आफ्नो रकममा पूर्ण पहुँच सुनिश्चित भएपछि मात्र अमेरिकासँग थप वार्ता र सम्झौता कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने उसको अडान रहेको छ ।

६- साउदी अरबले ३३ नेपाली नागरिकको कैद माफ गरेको छ । रमजानको अवसरमा साउदी सरकारले जेलमा रहेका ३३ नेपाली नागरिकलाई शाही आममाफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले साउदी अरब सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दै यो निर्णयलाई नेपाल र साउदी अरबबीच लामो समयदेखि कायम रहेको मित्रता, सद्भाव र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा लिएको जनाएको छ । मन्त्रालयले रियादस्थित नेपाली दूतावासमार्फत गरेको अनुरोधका आधारमा साउदी अरब सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी दिएको बताएको छ । आममाफी पाएका नेपालीहरू साउदी अरबको कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

७- सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा व्यवसायी दीपक भट्टको फाइल झिकाउन आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले  व्यवसायी दीपक भट्टको फाइल झिकाउन आदेश दिएको हो । यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले पौडेललाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको थियो । गत बुधबार सर्वोच्च अदालतमा पौडेलकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको थियो । पौडेललाई विशेष अदालतले शुरुमा ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकोमा सोमबार तीन दिन म्याद थप गरेको छ ।  पौडेललाई सम्पत्ति शुद्धिकरण मुद्धामा असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।

images

८- जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्तिलोकपथअन्तर्गत हेटौंडा–काठमाडौं सडकखण्डमा रातिमा यात्रा नगर्न आग्रह गरेको छ । प्रशासनले असार १६ गते बेलुका ५ बजेदेखि असार १७ गते बिहान ५ बजेसम्म तथा असार १७ गते बेलुका ५ बजेदेखि असार १८ गते बिहान ५ बजेसम्म कान्तिलोकपथअन्तर्गत हेटौंडा–काठमाडौं सडकखण्डमा कुनै पनि प्रकारको यात्रा नगर्न र नगराउन अनुरोध गरेको हो । असार १६ र १७ गते अत्यावश्यक कामबाहेक यात्रा नगर्न, ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुङ्गा सञ्चालन गर्ने, नदी तर्ने लगायतका जोखिमयुक्त गतिविधिबाट टाढा रहन समेत प्रशासनले आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ । यसका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, गेग्रान बहाव, सडक अवरोध, बाढी तथा नदीको जलसतह बढ्न सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ । प्रशासनले पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार र भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न तथा मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचना तथा सुरक्षा निकायबाट जारी हुने निर्देशनको पालना गर्न पनि अनुरोध गरेको छ । कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रको निःशुल्क टेलिफोन नम्बर ११४९ मा तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले वर्षा र जोखिमको अवस्थाको मूल्याङ्कनका आधारमा जिल्लाभित्रका कुनै पनि सडकमा सुरक्षाकर्मीले निश्चित समयका लागि आवागमन रोक्न सक्ने भएकाले त्यसमा सर्वसाधारणको सहयोग र समन्वय आवश्यक रहेको जनाएको छ ।

९-  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। उनीहरुले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा(डिभी)  लिएको पाइएको मन्त्रालयको सुचनामा उल्लेख छ । निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनी व्यवस्था छ । स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले  उनीहरुलाई स्पष्टीकरणको सोधिएको हो । मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ । मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ ।

images

१०- नेप्सेमा आजपनि गिरावट आएको छ । आज मंगलबार नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा पुगेर रोकिएको छ । आज ३६५ कम्पनिका ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी स्नो रिभरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने कर्पोरेट विकास बैंकको शेयर १३.०४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी टक्सार पिखुवा खोलाको शेयर १४०.३ प्रतिशतले घटेको छ ।   त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको १३ करोड ३९ लाख बराबरको कारोबार भएको छ भने टक्सार पिखुवा खोलाको ११ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।

११- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको हस्तक्षेपका कारण नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेको आरोप लगाएका छन् । मंगलबार नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले विश्व फुटबलमा नेपालभन्दा साना तथा विकासशील देशहरूले उल्लेखनीय प्रदर्शन गरिरहेको अवस्थामा नेपाली फुटबल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थासम्म पुग्नु दुःखद भएको बताउदै सरकारको हस्तक्षेपका कारण यस्तो अवस्था आएको बताए ।  ओलीले एन्फामा सरकारी हस्तक्षेप भएको दाबी गर्दै त्यसकै परिणामस्वरूप अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्था सिर्जना भएको आरोप लगाए । यस्तो अवस्थाको अन्त्य गरी खेलकुद संस्थाहरूलाई स्वतन्त्र र व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । सरकारले खेल क्षेत्रलाई सहयोग गर्नुको सट्टा हस्तक्षेप गरेको आरोप दोहोर्याउँदै ओलीले एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उनले खेलकुद क्षेत्रको वर्तमान अवस्था सुधार गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता पनि औँल्याए । उनले खेलाडीलाई योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा अवसर दिनुपर्ने बताउँदै क्षमता अनुसारको खेलमा प्रोत्साहन गर्न सके मात्रै राम्रो नतिजा हासिल गर्न सकिने धारणा राखेका थिए ।

images

१२- औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम संकलन भएको जनाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि.सं. २०४५ सालदेखि नै  केहि उधोगहरुले  भाडा तिर्न बाँकी राखेका थिए । केहि दिन अगाडी करिब ६३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सुचनानै प्रकशित  गरिएको र अधिकांशले धमाधम बक्यौता चुक्ता गरेका छन् । तोकिएको समयभित्र भाडा भुक्तानी नगर्ने उद्योगहरूको विद्युत लाइन काट्न मन्त्रालयले निर्देशन दिएसँगै लिमिटेडले सुरुमै झन्डै २ सय बढी उघोगको लाइन काटिएको थियो । ति उधोगहरुके धमाधम भाडा तिरेपछि लाइन जोडिएको छ । अझै भाडा तिर्न बाँकी रहेका ४५ वटा कम्पनीहरूको विद्युत लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिए । बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रा.लि.को करिब ३ करोड ६९ लाख र सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रा.लि.को करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी रहेको छ । हाल यी दुवै उद्योगको समेत विद्युत लाइन काट्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ । भाडा तिर्न आनाकानी देखि बाहिया दबाबका  बाबजुद मन्त्री गौरिकुमारी यादबको स्पष्ट निर्देशनका कारण छोटो समयमै उल्लेखित बक्यौता उठाउन सकिएको लिमिटेडका महाप्रबन्धक ओलीले बताए ।

१३- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४५ सयले घटेर तोलाको २ लाख ७७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८२ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर तोलाको ४२८५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४३१० मा कारोबार भएको थियो ।

१४- राष्ट्रिय प्रकृति संरक्षण कोषको सञ्चालक समितिमा सरकारले संरक्षण, वातावरण र प्राज्ञिक क्षेत्रका तीन अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सदस्यमा मनोनयन गरेको छ । कोषकी अध्यक्ष तथा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको ऐनअनुसार बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, विश्वप्रसिद्ध संरक्षण वैज्ञानिक डा. एरिक डाइनरस्टाइन र अस्ट्रेलियाकी प्राध्यापक डा. विन्डी राइटलाई सदस्यमा मनोनयन गरेकी हुन् । सरकारले अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै वैज्ञानिक संरक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले उनीहरूको मनोनयन गरेको जनाएको छ । मनोनित तीनै जनाको संरक्षण, अनुसन्धान, नीति निर्माण तथा अन्तर्राष्ट्रिय सहकार्यमा लामो अनुभव रहेको बताइएको छ । सरकारले यी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिताले नेपालको संरक्षण अभ्यासलाई आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान तथा अन्तर्राष्ट्रिय दातृ निकायसँग थप मजबुत रूपमा जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको बताएको छ । संरक्षणविद्हरूले पनि स्थानीय समुदायको जीविकोपार्जन सुधार, वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन र जलवायु परिवर्तनका चुनौती सामना गर्न यस्ता अनुभवी व्यक्तित्वहरूको सहभागिताले दीर्घकालीन नीतिगत आधार तयार हुने अपेक्षा गरिएको छ । चार दशकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय प्रकृति संरक्षण कोषले नेपालमा समुदायमा आधारित संरक्षण र जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान दिँदै आएको छ । नवमनोनित सदस्यहरूको अनुभव र अन्तर्राष्ट्रिय सञ्जालले कोषको रणनीतिक क्षमता अझ सुदृढ हुने विश्वास गरिएको बताइएको छ ।

१५- फिफा विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत भएको रोमाञ्चक खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।  निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीले १-१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ७२औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । खेल जिततर्फ उन्मुख देखिएको नेदरल्यान्ड्सले इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल बेहोर्न पुग्यो । मोरक्कोका इसाले गोल गर्दै खेल १-१ को अवस्थामा पुर्‍याएका थिए । त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि गोल निकाल्न सकेनन् । अन्ततः खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै ३-२ को जित निकाल्यो । यससँगै नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएको छ भने मोरक्कोले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । यसअघि पनि अन्तिम ३२ चरणमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम १६ मा पुगेको थियो । त्यसपछि मोरक्कोले पनि अर्को युरोपेली शक्तिशाली टोली नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकपमा अर्को ठूलो उलटफेर गरेको छ । समूह चरणमा नेदरल्यान्ड्स सात अंकसहित आफ्नो समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको थियो । मोरक्कोले पनि सात अंक नै जोडेर आफ्नो समूहमा दोस्रो स्थान हासिल गर्दै अन्तिम ३२ मा स्थान बनाएको थियो । समूह चरणमा दुवै टोली अपराजित रहे पनि नकआउट चरणमा मोरक्कोले बाजी मार्दै आफ्नो विश्वकप यात्रा अघि बढाएको छ । अब अन्तिम १६ मा मोरक्कोले क्यानडाको सामना गर्ने छ ।

Nepal life insurance

१६- आजदेखि रात्रिकालीन समयमा बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति लमजुङले मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले जानकारी दिएका हुन् । असार मसान्तसम्म डुम्रे-वेसीशहर-चामे सडकको वेसीशहरदेखि मनाङ जिल्लाको सीमानासम्मको खण्डमा प्रत्येक दिन साँझ ६:०० बजेदेखि विहान ६:०० बजेसम्म तथा पुष्पलाल मध्यपहाडी लोकमार्गको सुन्दरबजार – भोर्लेटार सडक खण्डको बिमिरे भञ्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ ७:०० बजेदेखि विहान ५:०० बजेसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधनलाई सञ्चालन तथा आवतजावत गर्न रोक लगाईएको छ ।

१७- गत साता भेनेजुएलामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या एक हजार ७१९ पुगेको छ । राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले सार्वजनिक गरेको विवरणअनुसार हजारौँ मानिस प्रभावित भएका छन् भने उद्धार तथा राहत कार्य अझै जारी छ । सरकारी विवरणअनुसार भूकम्पबाट कम्तीमा २२ हजार ६१९ जना प्रभावित भएका छन् । तीमध्ये पाँच हजार ३४ जना घाइते भएका छन् । साथै ८५५ वटा भवनमा क्षति पुगेको छ, जसमध्ये १८९ वटा भवन पूर्ण रूपमा भत्किएका छन् । गत बुधबारदेखि हालसम्म ६०९ वटा पराकम्पन महसुस गरिएको अधिकारीहरूले बताएका छन् । सोमबार पनि एउटा पराकम्पन व्यापक रूपमा महसुस भए पनि त्यसबाट थप ठूलो क्षति नभएको जनाइएको छ । यसैबीच, अमेरिकी भूगर्भीय सर्वेक्षणले भूकम्पको अन्तिम मृत्यु संख्या १० हजार वा त्यसभन्दा बढी पुग्ने सम्भावना ४४ प्रतिशत रहेको आकलन गरेको छ । अर्कोतर्फ, अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले उपग्रहबाट प्राप्त राडार तथ्याङ्कको प्रारम्भिक विश्लेषणका आधारमा मध्य तथा उत्तरी भेनेजुएलामा करिब ५८ हजार ८७० वटा भवन क्षतिग्रस्त वा ध्वस्त भएको अनुमान सार्वजनिक गरेको छ । युरोपेली अन्तरिक्ष निकायद्वारा सञ्चालन गरिएको ‘सेन्टिनेल–१’ उपग्रहको राडार तथ्याङ्क प्रयोग गरेर तयार गरिएको उक्त प्रारम्भिक अध्ययनलाई स्थलगत रूपमा अझै पुष्टि नगरिएको जनाइएको छ । त्यसैले यसलाई प्रारम्भिक संकेतका रूपमा मात्र लिन अनुसन्धानकर्ताहरूले आग्रह गरेका छन् ।

१८-  गाब्रिएल मार्टिनेलीले इन्जुरी समयको पाँचौँ मिनेटमा निर्णायक गोल गरेपछि ब्राजिलले पुनरागमन जित निकाल्दै जारी विश्वकपमा जापानलाई २-१ ले पराजित गरेको छ। यससँगै पाँच पटकको विश्व विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अब ब्राजिलले अन्तिम १६ मा नर्वे वा आइभोरी कोस्टमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । खेलको निर्धारित समय सकिनै लाग्दा ब्राजिलले जापानको पेनाल्टी क्षेत्रनजिकै बल खोसेको थियो । ब्रुनो गिमाराइसले दिएको उत्कृष्ट पासलाई गाब्रिएल मार्टिनेलीले नियन्त्रण गर्दै पोस्टमा ठोक्काएर जाली चुमाएपछि ब्राजिलले रोमाञ्चक जित सुनिश्चित गर्‍यो । जापानले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई दबाबमा राखेको थियो । खेलको अग्रता पनि जापानले नै लिएको थियो । दानिलोको कमजोर पासलाई काइसु सानोले बीचमै खोसेर कासेमिरोलाई छक्याउँदै तल्लो कुनामा शानदार प्रहार गरेका थिए । पहिलो हाफमा लय समात्न नसकेको ब्राजिल दोस्रो हाफमा भने आक्रामक रूपमा फर्कियो । खेल पुनः सुरु भएको १० मिनेटपछि गाब्रिएलको पछाडिबाट आएको क्रसलाई कासेमिरोले शक्तिशाली हेडमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । बराबरी गोलपछि ब्राजिलले लगातार आक्रमण गरिरह्यो । भिनिसियस जुनियरले एकल प्रयासमा दुई रक्षकलाई छल्दै गरेको आकर्षक प्रहार जापानी गोलरक्षक जियोन सुजुकीले पोस्टतर्फ फर्काएपछि ब्राजिल अग्रता लिनबाट वञ्चित भएको थियो । त्यसपछि जापानले खेलमा पुनः सन्तुलन कायम गरे पनि अन्तिम क्षणमा आओ तनाकाले आफ्नै पेनाल्टी क्षेत्रको छेउमा बल गुमाए । त्यसैको फाइदा उठाउँदै मार्टिनेलीले निर्णायक गोल गरेपछि जापानको उत्कृष्ट संघर्ष निराशामा टुंगियो र ब्राजिलले अन्तिम १६ को यात्रा तय गर्‍यो । यो हारसँगै जापानको विश्वकप यात्रा टुंगिएको छ ।

१९-  चार पटकको विश्व विजेता जर्मनी फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ । अन्तिम ३२ को खेलमा पाराग्वेसँग अतिरिक्त समयसम्म १-१ को बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा ४-३ गोलले  पराजित हुँदै जर्मनीको विश्वकप यात्रा समाप्त भएको हो । रोमाञ्चक पेनाल्टी सुटआउटमा जर्मनीका काई हाभर्ट्स र निक वोल्टेमाडेको प्रहार पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले रोकेका थिए । यद्यपि पाराग्वेले पनि सुरुआती अवसरको फाइदा उठाउन सकेन । एन्टोनियो सानाब्रियाको प्रहार पोस्टबाहिर गएको थियो भने फाबियान बाल्बुएनाको प्रहार ४० वर्षीय अनुभवी गोलरक्षक मानुएल नोयरले बचाएका थिए । सडन डेथमा जर्मनीका जोनाथन टाहको प्रहार बारमाथिबाट बाहिरिएपछि पाराग्वेका रक्षक होसे कानालेले निर्णायक गोल गर्दै टोलीलाई ४-३ को पेनाल्टी जित दिलाए ।  यस जितसँगै पाराग्वे विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ भने चार पटकको च्याम्पियन जर्मनी अप्रत्याशित रूपमा प्रतियोगिताबाट बाहिरिएको छ । अब अन्तिम १६ मा पराग्वेको भिडन्त फ्रान्स र स्विडेनबीचको विजेतासँग हुने छ ।

२०-  सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकको महिला क्रिकेट प्रतियोगिताका लागि अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र बेलायतले स्थान पक्का गरेका छन् । यी चार टोलीले महिला टी–२० विश्वकप २०२६ मा आफ्नो महादेशका सबैभन्दा सफल योग्य टोलीका रूपमा प्रतिस्पर्धा सकाएपछि ओलम्पिकमा स्थान सुरक्षित गरेका हुन् । अस्ट्रेलिया ओसिनिया, भारत एसिया, दक्षिण अफ्रिका अफ्रिका र बेलायत युरोपबाट छनोट भएका छन् । महिला विश्वकपको सेमिफाइनलसम्म पुगेको वेस्ट इन्डिज भने ओलम्पिकमा सिधै खेल्न पाउने छैन । वेस्ट इन्डिज धेरै राष्ट्रको संयुक्त टोली भएकाले यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक समितिले छुट्टै राष्ट्रिय ओलम्पिक समिति रूपमा मान्यता दिएको छैन । यद्यपि सन् २०२७ मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को ओलम्पिक छनोट प्रतियोगितामार्फत उसले ओलम्पिकमा पुग्ने अवसर पाउनेछ । पुरुषतर्फका चार टोलीको टुङ्गो भने सन् २०२६ डिसेम्बर ३१ सम्मको अन्तर्राष्ट्रिय टी–२० वरियताका आधारमा हुनेछ । अफ्रिका, एसिया, युरोप र ओसिनियाबाट सबैभन्दा माथि रहेका योग्य टोलीले ओलम्पिकमा स्थान बनाउनेछन् । आयोजक राष्ट्रका रूपमा अमेरिका पुरुष र महिला दुवै प्रतियोगितामा छनोट हुने अवसरमा छ । त्यसका लागि सन् २०२६ जुन ३० देखि डिसेम्बर ३१ सम्मको अवधिमा सम्बन्धित टी-२० वरियतामा शीर्ष १५ भित्र पर्नुपर्नेछ । हाल अमेरिकी पुरुष टोली १३औँ स्थानमा रहेकाले उसको छनोट लगभग निश्चित मानिएको छ । अमेरिकी महिला टोली भने हाल २०औँ स्थानमा छ । यदि उसले आवश्यक मापदण्ड पूरा गर्न नसकेमा पाँचौँ स्वतः छनोट स्थान सन् २०२७ मार्च १ सम्मको टी-२० वरियतामा रहेका अझै छनोट नभएका सबैभन्दा माथिल्लो टोलीलाई दिइनेछ । दुवै विधाको छैटौँ टोली सन् २०२७ मा हुने ओलम्पिक छनोट प्रतियोगिताबाट तय हुनेछ । त्यस प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ आठ-आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसको छनोट पनि अन्तर्राष्ट्रिय टी- २० वरियताका आधारमा हुनेछ। यदि सन् २०२६ डिसेम्बर ३१ सम्म वेस्ट इन्डिजका पुरुष वा महिला टोली छनोट नभएका शीर्ष आठ टोलीभित्र परेमा क्यारेबियन क्षेत्रका लागि छुट्टै छनोट प्रतियोगिता आयोजना गरिनेछ । त्यसबाट ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुने टोली तय हुनेछ । ओलम्पिकमा पुरुष र महिला दुवैतर्फ छनोट भएका ६-६ टोलीलाई तीन-तीन टोलीका दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक टोलीले आफ्नो समूहका अन्य दुई टोलीसँग एक-एक खेल खेल्नेछन् । त्यसपछि अर्को समूहका समान स्थानमा नरहेका दुई टोलीसँग थप दुई खेल खेल्नेछन् । अन्तिम अंकतालिकामा शीर्ष दुई टोलीले स्वर्ण र रजत पदकका लागि प्रतिस्पर्धा गर्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीबीच कांस्य पदकका लागि खेल हुनेछ । दुवै विधा गरी ओलम्पिक क्रिकेटमा कुल २८ खेल हुनेछन् । सबै खेल अमेरिकाको पोमोनामा विशेष रूपमा निर्माण गरिने क्रिकेट मैदानमा आयोजना गरिनेछ ।