युरोपमा भीषण गर्मीको कहर : ३५ डिग्रीभन्दा बढी तापक्रमले साढे ९ करोडभन्दा बढी मानिस प्रभावित हुने अनुमान

काठमाडौं, असार १६ — युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको भीषण गर्मीको लहरका कारण आज (मंगलबार) करिब ९ करोड ५० लाखभन्दा बढी मानिस ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमबाट प्रभावित हुने अनुमान गरिएको छ।

एएफपीले सार्वजनिक गरेको विश्लेषणअनुसार सोमबार १३ करोडभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गरेको अनुमान गरिएको थियो। मंगलबार प्रभावित जनसंख्या केही घट्ने अपेक्षा गरिए पनि युरोप (टर्कीबाहेक) का करिब पाँचमध्ये दुई जनाले ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम अनुभव गर्ने प्रक्षेपण गरिएको छ।

ग्रीष्मयामको सुरुआतमै यति उच्च तापक्रम देखिनु असामान्य मानिएको छ। अत्यधिक गर्मीका कारण केही स्थानमा विद्यालय बन्द गरिएका छन् भने बाहिरी गतिविधिमा समेत प्रतिबन्ध लगाइएको छ। स्वास्थ्य जोखिम बढेसँगै गर्मीका कारण मृत्यु हुने घटनासमेत बढ्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।

वर्ल्ड वेदर अट्रिब्युसन ग्रुपका वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तन नभएको भए जुन महिनामै यस्तो तीव्र गर्मीको लहर आउनु लगभग असम्भव हुने थियो।

आजको गर्मीको लहरबाट विशेषगरी युरोपका पूर्वी तथा दक्षिणी क्षेत्र बढी प्रभावित हुने जनाइएको छ। हङ्गेरीका अधिकांश क्षेत्रमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ। त्यस्तै स्लोभाकिया, मोल्डोभा, युक्रेन, रोमानिया, सर्बिया, क्रोएसिया, स्पेन र इटालीका लाखौँ मानिस पनि अत्यधिक गर्मीबाट प्रभावित हुने प्रक्षेपण गरिएको छ।

एएफपीका अनुसार यो विश्लेषण जर्मनीको राष्ट्रिय मौसम सेवा तथा संयुक्त अनुसन्धान केन्द्रको मौसम पूर्वानुमान र जनघनत्वसम्बन्धी तथ्याङ्कका आधारमा तयार गरिएको हो।