
काठमाडौं, असार १७ — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। विभागका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा पनि मनसुन विस्तार भएसँगै देशभर मनसुन सक्रिय बनेको हो।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहेको छ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।


महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा वा हिमपातको सम्भावना रहेको छ। पहाडी भू–भागका धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रका थोरै स्थानमा तथा पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।





