
काठमाडौं । फ्रान्सले स्विडेनलाई ३-० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । अब फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।
यस खेलमा दुई गोल गरेका फ्रान्सका कप्तान किलियन एम्बाप्पे विश्वकपको नकआउट चरणमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले नकआउट चरणमा आफ्नो कुल गोल संख्या १० पुर्याउँदै नयाँ कीर्तिमान कायम गरेका छन् । साथै, जारी विश्वकपमा उनको गोल संख्या ६ पुगेको छ । यससँगै उनी अर्जेन्टिनाका लियोनेल मेसीसँग सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन् । साथै विश्वकपमा एम्बाप्पेले कुल १८ गोल गरेका छन् । धेरै गोल गर्ने सूचीमा मेसी १९ गोल गर्दै शिर्ष स्थानमा रहेका छन् ।


न्यु जर्सीको अत्यधिक गर्मीबीच भएको खेलमा फ्रान्सले सुरुदेखि नै स्विडेनमाथि दबाब बनाएको थियो । खेलको २०औँ मिनेटमा एम्बाप्पेको गोल अफसाइडका कारण मान्यता पाएन । त्यसको केहीबेरपछि जुल्स कुन्देको पासमा उनले प्रहार गरेको बल पोस्टमा लागेको थियो । त्यसपछि माइकल ओलिसेको आकर्षक प्रहार पनि पोस्टमा लाग्दा ओस्मान डेम्बेलेले रिबाउन्डमा गरेको प्रहार लक्ष्यभन्दा बाहिरिएको थियो । स्विडेनका गोलरक्षक याकोब विडेल जेटरस्ट्रोमले लगातार उत्कृष्ट बचाउ गर्दै फ्रान्सलाई लामो समयसम्म गोल गर्न दिएनन् । तर पहिलो हाफको इन्जुरी समयमा डेम्बेलेको उत्कृष्ट पासमा एम्बाप्पेले रक्षकलाई छलाउँदै सशक्त प्रहारमार्फत फ्रान्सलाई अग्रता दिलाए ।

दोस्रो हाफ सुरु भएको आठौँ मिनेटमा माइकल ओलिसेको पासमा ब्राड्ली बार्कोलाले नजिकको पोस्टबाट गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।
खेलको ७४औँ मिनेटमा फेरि ओलिसेकै पासमा एम्बाप्पेले सुन्दर घुमाउरो प्रहार गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए ।

स्विडेनले खेलको अन्त्यतिर केही अवसर सिर्जना गरे पनि फ्रान्सका गोलरक्षक माइक मेनियाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई गोल खानबाट जोगाएका थिए ।
यसअघि सोमबार भएको खेलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा हराएको पाराग्वे अब फ्रान्सको अन्तिम १६ को प्रतिद्वन्द्वी बनेको छ ।





