
काठमाडौं । भेनेजुएलाको गत साता गएको दुई शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या एक हजार ९४३ पुगेको छ ।
भेनेजुएलाको नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा १० हजार ५७१ जना घाइते भएका छन् । साथै २८ हजार ३८० जना विभिन्न अस्पताल तथा अस्थायी शिविरमा उपचार र हेरचाहमा रहेका छन् ।

७.२ र ७.५ तीव्रताका दुई शक्तिशाली भूकम्प लगातार आएपछि उत्तरी भेनेजुएलामा व्यापक क्षति पुगेको छ । हजारौं भवनमा क्षति पुगेको छ भने ठूलो संख्यामा मानिस अझै बेपत्ता छन् । भूकम्पपछि लगातार आइरहेका शक्तिशाली पराकम्पले प्रभावित क्षेत्रमा त्रास फैलाएको छ ।


भत्किएका भवनहरूको भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि आपत्कालीन उद्धारकर्मी र स्वयंसेवकहरूले निरन्तर काम गरिरहेका छन् । स्थानीय टोलीसँगै विश्वका विभिन्न देशबाट आएका उद्धारकर्मी पनि उद्धार अभियानमा खटिएको रोड्रिगेजले जानकरी दिएका छन् । भूकम्पपछि पहिलो ७२ घण्टा जीवित उद्धारका लागि सबैभन्दा महत्वपूर्ण मानिने भए पनि घटनाको झण्डै एक सातापछि पनि उद्धार कार्य जारी छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा उद्धारकर्मीहरू साँघुरा र अस्थिर भग्नावशेषभित्र पसेर जीवित व्यक्तिको खोजी गरिरहेको देखिन्छ ।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार ३० देशबाट आएका तीन हजार ६८१ जना उद्धारकर्मी खोज तथा उद्धार अभियानमा सहभागी भएका छन् । अन्तर्राष्ट्रिय समुदायले एक हजार टनभन्दा बढी राहत सामग्री, २७ वटा सवारीसाधन र ११८ वटा खोजी कुकुर पनि उपलब्ध गराएको उनले बताइन् ।
सरकारी तथ्याङ्कअनुसार मंगलबारसम्म छ हजार ४५० भन्दा बढी व्यक्तिको जीवित उद्धार गरिएको छ भने थप १३ हजार ५०० जना आफ्नै प्रयासमा सुरक्षित स्थानमा पुग्न सफल भएका छन् ।

संयुक्त राष्ट्रसंघीय बाल कोषले भूकम्पपछि करिब १८ लाख मानिसलाई मानवीय सहायता आवश्यक रहेको जनाएको छ। तीमध्ये करिब छ लाख ८० हजार बालबालिका रहेका छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको प्रारम्भिक अनुमानअनुसार भूकम्पका कारण भएको प्रत्यक्ष भौतिक क्षतिको मूल्य करिब ६ अर्ब ७० करोड अमेरिकी डलर बराबर पुगेको छ।




