
सिरियाको दक्षिणी प्रान्त दारास्थित अबिदिन गाउँमा इजरायली सेनाको पछिल्लो घुसपैठ र त्यसपछि भएको गोलाबारीका कारण स्थानीय बासिन्दाले ठूलो त्रास र विस्थापनको सामना गर्नुपरेको छ । विगत केही महिनादेखि यस क्षेत्रमा इजरायली सेनाको गस्ती सामान्य जस्तै बने पनि आईतवारको घटनाले भने नयाँ मोड लिएको स्थानीयले बताएका छन् । स्थानीय बासिन्दाका अनुसार इजरायली सेनाले अबिदिन गाउँ नजिकै आफ्नो उपस्थिति स्थायी बनाउन खोजेपछि स्थानीयले त्यसको प्रतिकार गरेका थिए ।
गाउँलेहरूले सैन्य वाहनहरूको आवागमन रोक्न सडकमा ढुङ्गा राखेर अवरोध सिर्जना गरेका थिए । सो क्रममा युवा तथा बालबालिकाहरूले इजरायली सेनामाथि ढुङ्गा प्रहार गरी सांकेतिक विरोध जनाएका थिए । यस प्रतिरोधको केही घण्टापछि इजरायली सेनाले तोप र हेलिकप्टरबाट गाउँमा आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था ‘साना’ र सिरियाली अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएका छन् । इजरायली गोलाबारीका कारण त्रसित बनेका दर्जनौँ परिवार रातारात गाउँ छाडेर भाग्न बाध्य भएका थिए ।


८६ वर्षीय स्थानीय बासिन्दा खालिद महमुद अल–रियाशेले भने, ‘पहिले उनीहरू गाउँमा आउँथे र जान्थे, हामी डराए पनि खासै वास्ता गर्दैनथ्यौँ । तर यसपटक उनीहरूले गाउँमै बस्ने मनसाय देखाएपछि हाम्रा छोराछोरी र युवाहरूले ढुङ्गामुढा गरेर उनीहरूलाई धपाए । यो हाम्रो गाउँमा उनीहरूका लागि ठाउँ छैन भन्ने सन्देश थियो ।’

अर्का स्थानीय अली अल–अबिदिनले इजरायली सेनाले घरहरूमा प्रवेश गरी खानतलासी गर्नेसम्मका कार्य सहँदै आए पनि गाउँमै बस्न खोज्नु आफूहरूका लागि ‘लक्ष्मण रेखा’ पार गर्नु सरह भएको बताए ।
उनले भने, ‘यो हाम्रो जमिन हो, हाम्रो गहुँ र जीविकोपार्जनको आधार हो । उनीहरू यहाँ बस्न थालेपछि हामी कहाँ जाने ?’
२० वर्षीय मोमेन रियाशेका अनुसार इजरायली सेनाले गाउँ प्रवेश गर्न खोज्दा स्थानीयले अवरोध गरेपछि सेनाले प्रत्यक्ष गोलीबारी समेत गरेको थियो । सोमवार संयुक्त राष्ट्रसङ्घीय डिसइंगेजमेन्ट अब्जर्भर फोर्सका शान्ति सैनिकहरूले अबिदिन क्षेत्रमा गस्ती गरेका छन् । इजरायली आक्रमण रोकिएपछि विस्थापित भएका केही परिवार गाउँ फर्कन थालेको जनाइएको छ ।

यसैबीच, सिरियाली परराष्ट्र मन्त्रालयले दारा र छिमेकी कुनेत्रा प्रान्तमा भएको इजरायली घुसपैठ र गोलाबारीको कडा निन्दा गरेको छ । मन्त्रालयले सन् १९७४ को सैन्य पृथकीकरण सम्झौताको सम्मान गर्न र इजरायली उल्लंघन रोक्न संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायलाई गुहारेको छ । सन् २०२४ को अन्त्यमा बसर अल–असदको प्रशासन ढलेयता दक्षिण सिरियामा इजरायली सैन्य गतिविधि र आक्रमणका घटनाहरूमा वृद्धि भएको छ ।




