
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनपश्चात निर्वाचित केन्द्रिय समितिको पहिलो बैठक बुधवार सम्पन्न भएको छ । पार्टी कार्यालयमा बसेको बैठकले विभिन्न सांगठनिक निर्णयहरू गर्दै महत्वपूर्ण आयोगहरू गठन गरेको हो । बैठकको शुरुमा नवनिर्वाचित केन्द्रिय सदस्य तथा पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा पार्टी सभापति रवि लामिछानेले निर्वाचित सदस्यहरूलाई पार्टीको चुनाव चिह्न ‘घण्टी’ र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । बैठकका निर्णयहरूबारे जानकारी दिँदै महामन्त्री विपिन आचार्यले पहिलो एजेण्डाका रूपमा महाधिवेशन सफल पार्न सहयोग गर्ने सम्पूर्ण प्रतिनिधि, सुरक्षाकर्मी, सरकार, सञ्चारकर्मी तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्ने प्रश्ताव पारित गरिएको बताउनु भयो ।


त्यसैगरी, निर्वाचन आयोगबाट अनुमोदित नयाँ विधानको व्यवस्था बमोजिम बैठकले पार्टीका तीनवटा महत्वपूर्ण आयोगहरू गठन गरेको छ । जसअन्तर्गत अनुशासन आयोगको प्रमुखमा उच्च अदालतका पूर्वन्यायाधीश लेखनाथ पौडेललाई मनोनित गरिएको छ । निर्वाचन आयोग र लेखा आयोगको हकमा भने पुराना संरचनाहरूलाई भंग गरी सोही सदस्यहरूलाई पुनः जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।

केन्द्रिय समितिमा रिक्त रहेका सदस्य, पदाधिकारी तथा प्रवक्ताको मनोनयनका सम्बन्धमा भने यस बैठकमा कुनै निर्णय नभएको महामन्त्री आचार्यले प्रष्ट पार्नुभयो । उहाँकाअनुसार मनोनयनको अधिकार पार्टी सभापतिको विशेषाधिकार भएकाले सभापतिको निर्देशन र तयारी बमोजिम आगामी बैठकहरूमा यस प्रक्रियालाई अगाडि बढाइनेछ । साथै बैठकमा पार्टीको ‘डिजिटल डोमेन’ र आन्तरिक व्यवस्थापनका विषयमा समेत प्रारम्भिक छलफल भएको जानकारी दिनुभयो ।




