पोखरा महानगरको बजेट पारित

पोखरा ।  पोखरा महानगरको १९औँ नगर सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि महानगरपालिकाको नीति तथा कार्यक्रम र वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ ।

नगर सभाको बुधवार बसेको बैठकले उपप्रमुख मन्जुदेवि गुरुङले प्रस्तुत गरेको महानगरपालिकाको आ.व २०८३।०८४ को वार्षिक विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट रु.७ अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पारित गरेको हो ।  १९औँ नगर सभाको आषाढ ५ गते बसेको दोस्रो बैठकमा उपप्रमुख गुरुङले महानगरपालिकाका वार्षिक नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न लागि रु.७ अर्ब १५ करोड २५ लाख बराबरको बजेट प्रस्तुत गरेकी थिइन् ।

बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु.२ अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट रु.५ करोड ५० लाख, सङ्घीय सरकार समपूरक अनुदान रु.१ करोड ८२ लाख, सङ्घीय सरकार समानिकरण अनुदान रु.४९ करोड ३७ लाख गरी सङ्घीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान रु.३ अरब १८ करोड ६० लाख रहने छ ।
यस्तै गण्डकी प्रदेश सरकार समपूरक अनुदान तर्फ रु.६० लाख, गण्डकी प्रदेश सरकार विशेष अनुदान रु.४० लाख र गण्डकी प्रदेश सरकार समानिकरण अनुदान तर्फ रु.८ करोड १५ लाख ३६ हजार गरी प्रदेश सरकार वित्तीय हस्तान्तरणको कुल योगदान रु.९ करोड १५ लाख ३६ हजार हुनेछ ।

राजश्व बाँडफाँड तर्फ सङ्घीय सरकारबाट प्राप्त हुने रु.३४ करोड ३४ लाख ७३ हजार, राजश्व बाँडफाँड गण्डकी प्रदेश सरकारबाट रु.४ करोड ९ लाख ८६ हजार, राजश्व बाँडफाँड स्थानीय सरकार तर्फ रु.१ अरब ३१ लाख १४ हजार र आन्तरिक स्रोत तर्फ रु.२ अरब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय रु.३ अरब ८७ करोड ४९ लाख ६४ हजार हुनेछ । कूल विनियोजन ७ अरब १५ करोड २५ लाख मध्ये चालु खर्च तर्फ ५५.१५ तथा पुँजीगत खर्च तर्फ ४४.९५ रहेको छ ।

सभाले पोखरा महानगरपालिकाको आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन सहित कार्यपालिकाबाट सिफारिस भइआएका विधेयक, संशोधन विधेयक, मापदण्ड लगायत कानुनहरू समेत पास गरेको छ ।