
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले शुक्लफाँटा राष्ट्रिय निकुन्ज विस्थापित परिवारको समस्या सम्बोधन गर्न अध्ययन समिति गठन गरेको छ । मन्त्री गीता चौधरीले मन्त्रीस्तरीय निर्णय गर्दै हालसम्म विभिन्न आयोगका सिफारिसहरुको अध्ययन गर्न चार सदस्यीय समिति गठन गरेकी हुन् ।
सो समितिले एक महिनाभित्र विस्थापित परिवारहरुको उचित व्यवस्थापनको लागि समाधानको मार्गचित्र तयार गरी समस्या समाधानका उपाय एवम तरिका सिफारिस गर्नु पर्नेछ ।


त्यसैगरी, विगतका आयोगहरुको सिफारिस अध्ययन गर्नुका साथै आयोग बनाउनु पर्ने भए सो आयोगको टीओआर सहित तयार गरी पेस गर्नु पर्नेछ ।

वन्यजन्तु सिकार आरक्षदेखि राष्ट्रिय निकुन्जसँग स्तरउन्नती सम्मका गतिविधिमा निकुन्ज क्षेत्र भित्र रहेको वस्ती स्थानन्तरण गर्दाको जग्गा सम्बन्धी विभिन्न समस्याहरु हालसम्म पनि समाधान हुन नसकेकाले सो निकुन्जबाट विस्थापित परिवारहरुको उचित व्यवस्थापनको लागि सो समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।




