एकीकृत माओवादीका लडाकुहरुको पुनर्वर्गीकरणको काम आज सकिएको छ । पुनर्वर्गीकरण सकिंदा समायोजनमा जान चाहने लडाकुको संख्या ३ हजार १ सय २९ मात्रै कायम भएको छ । अन्य शिविरहरुमा हिजो अस्ती नै पुनर्वर्गीकरणको काम सकिएकोमा आज कैलालीको तालबन्ल शिविरमा काम सम्पन्न भएपछि शिविरहरुमा रहने लडाकुको संख्या ३१ सय २९ जनामा सीमित भएको हो । माओवादीले शान्ति प्रक्रियामा आएपछि लडाकु संख्या ३४ हजार देखाउँदै शिविरमा पठाएको थियो ।
तर राष्ट्रसंघीय राजनीतिक मिसन अन्मिनले १९ हजार ६ सयलाई मात्रै प्रमाणिकरण गरेको थियो । पाँच बर्षभन्दा लामो समय शिविरमा बसेका लडाकुको समायोजन प्रक्रिया अघि बढाउने सहमतिसंगै पहिलो चरणको पुनर्वर्गीकरणबाट ९ हजार ७ सय ५ जनाले समायोजन रोजेर शिविर बसेका थिए । दलहरुबीच ६ हजार ५ सयलाई मात्रै समायोजन गर्ने सहमति अनुसार पुनः वर्गीकरण गर्दा ६ हजार ५ सय ७४ जनाले स्वेच्छिक अवकाश रोजेर बाहिरिएका हुन ।
शिविरमा रहेको लडाकुको संख्या समायोजनका लागि सहमति भएको ६ हजार ५ सयको आधा भन्दा पनि कम हो । यी मध्येबाट अब सेनाले ब्यक्तिगत मापदण्ड पूरा गरेकालाई मात्रै सेनामा समायोजन गर्ने छ । मानवअधिकार हनन, गम्भीर प्रकृतिका हत्या तथा अपराध, सेना तथा प्रहरीका भगौडालाई समायोजनमा नलिने सहमति यसअघि नै भईसकेको छ ।
सवै मापदण्ड पूरा गर्दा सेनामा जाने लडाकुको संख्या अझै घट्न सक्ने अनुमान गरिएको छ ।



