
काठमाडौं, १८ असार । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरको लक–इन अवधि आजदेखि समाप्त भएको छ। कम्पनीको ५७ हजार ७९८ कित्ता सेयर अब कारोबारका लागि खुला हुने भएको हो।
कम्पनीले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड २०८२ पुस १८ गते सम्पन्न गरेको थियो। प्रचलित व्यवस्था अनुसार आईपीओ बाँडफाँड भएको मितिले छ महिनासम्म सामूहिक लगानी कोषलाई छुट्याइएको सेयर लक–इन अवधिमा राख्नुपर्ने व्यवस्था रहेको छ।

सोही व्यवस्थाअनुसार रिलायन्स स्पिनिङ मिल्सको सामूहिक लगानी कोषतर्फको सेयरको लक–इन अवधि समाप्त भएको कम्पनीले जनाएको छ। लक–इन अवधि समाप्त भएसँगै उक्त सेयर अब दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्।
लक–इन अवधि समाप्त भएपछि बजारमा थप सेयर आपूर्ति हुन सक्ने भएकाले यसले कम्पनीको दोस्रो बजार कारोबारमा केही प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।





