
काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध एम्पायर स्टेट भवनको चुचुरोमा सुरक्षा व्यवस्था छल्दै एक प्रेमी-प्रेमिका जोडी पुगेपछि उनीहरू पक्राउ परेका छन् ।
दुवैले भवनको माथिल्लो भागमा पुगेर ‘जब प्रेमको शक्ति सत्ताप्रतिको मोहभन्दा ठूलो हुन्छ, तब संसारले शान्ति चिन्छ’ भन्ने सन्देश लेखिएको ब्यानर फहराएका थिए । त्यसपछि उनीहरूले एकअर्कालाई विवाहको प्रस्ताव राख्सदै इन्मेगेजमेन्ट गरेको बताइएको छ । घटनाका तस्बिर र दृश्य सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।


घटनाबारे जानकारी पाएपछि प्रहरी र आपत्कालीन उद्धार टोली सिँढीमार्फत उनीहरू रहेको स्थानमा पुगेको थियो । त्यसपछि दुवैलाई सकुशल तल झारिएको थियो ।

प्रहरीले एन्जेला निकोलाउ र इभान कुजनेत्सोवविरुद्ध भवनमा अवैध रूपमा प्रवेश गरेको, सुरक्षामा लापरवाही गरेको, ज्यान जोखिममा पारेको तथा सम्पत्तिमा क्षति पुर्याएको लगायतका कसुरमा मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।
प्रहरीले दुवै प्रतिबन्धित क्षेत्रमा कसरी पुगे भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । यी प्रेमी-प्रेमिका यसअघि पनि अग्ला भवनहरूमा जोखिमपूर्ण साहसिक गतिविधि गर्दै आएको कारण चर्चामा रहँदै आएका छन् । उनीहरूको यस्तै गतिविधिलाई आधार बनाएर सन् २०२४ मा ‘स्काईवाकर्सः अ लभ स्टोरी’ नामक वृत्तचित्रसमेत निर्माण गरिएको थियो ।





