जरिवाना गरेको रकम हिनामिना गरेको उजुरी परेपछि काठमाडौ महानगरीय ट्राफिक महाशाखामा छापा

काठमाडौ, वैशाख ९ – ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना गरेको रकम हिनामिना गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले महानगरीय ट्राफिक महाशाखा, बग्गीखानामा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ । प्रधान कार्यालयको कार्य विभागले बिहीबार छापा मारेको हो ।

 

महाशाखाले ‘मापसे’ गरी सवारी चलाउनेलाई जरिवाना गरेको रकम हिनामिना गरेको प्रधानमन्त्री कार्यालयमा परेको थियो । महाशाखाले दुई थरी बिल प्रयोग गरी जरिवानाको ठूलो हिस्सा राजस्व दाखिला नगरेको उजुरी छ । नक्कली बिल काटेर जरिवाना असुल गरी राजस्व दाखिला नगरेको आरोप छ । थोरै मात्र सक्कली बिल काटेर न्यून राजस्व दाखिला गरेको आरोप छ । यस्तै उपत्यकाका ट्राफिक इकाईहरूले जरिवाना गरी बग्गीखाना पठाएको रकम पनि राजस्वमा दाखिला नभएको आरोप छ ।

 

कार्य विभागअन्तर्गतको ट्राफिक निर्देशनालयको टोलीले उपत्यकाका ट्राफिक इकाईमा पुगेर तिनले जरिवाना गरी राजस्व दाखिला गर्न बग्गीखाना पठाएको विवरण संकलन गरेको थियो । कार्यविभागका वरिष्ठ उपरीक्षक (एसएसपी) रणबहादुर चन्द नेतृत्वको टोलीले ट्राफिक इकाईले पठाएको रकम दाखिला भए/नभएको रुजु गरेको थियो । टोलीले प्रतिवेदन बुझाउन बाँकी छ । महाशाखाका प्रमुख नायब महानिरीक्षक गणेशराज राई मुलुकबाहिर छन् । निमित्त प्रमुख जयबहादुर चन्दले ट्राफिक निर्देशनालयले नियमित निरीक्षण मात्र गरेको दाबी गरे । ‘निरीक्षणका क्रममा केही कागजपत्र हेर्न लैजानु सामान्य हो,’ उनले भने ।

कान्तिपुर