विश्वकपको नकआउटमा अर्जेन्टिना र केप भर्डे खेल्दै, भोजिन्हाको मेसीलाई रोक्ने चुनौती

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ चरणमा प्रतियोगिताकै सबैभन्दा ठूलो आकर्षणमध्ये एक मानिएको अर्जेन्टिना र पहिलो पटक विश्वकप खेलेको केप भर्डेबीच भोली बिहान खेल हुदैछ । अमेरिकाको मियामीमा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान ३: ४५ बजेदेखि शुरु हुँदैछ ।

विश्वकपमा पहिलो पटक सहभागी भएका चार टोलीमध्ये केप भर्डे मात्र नकआउट चरणमा पुग्न सफल भएको हो । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको केप भर्डेले अब साविक विजेता अर्जेन्टिनाको चुनौती सामना गर्नेछ ।

अर्जेन्टिना समूह चरणका तीनै खेल जित्दै अपराजित रूपमा अन्तिम ३२ मा पुगेको हो । उता, केप भर्डेले तीनै खेल बराबरी खेल्दै नकआउट चरणमा स्थान बनाएको थियो । केप भर्डेको समूहमा दुई पूर्व विश्वविजेता टोलीसमेत रहेका थिए ।

अर्जेन्टिनाले समूह ‘जे’ को अन्तिम खेलमा पहिलो पटक विश्वकप खेलेको जोर्डनलाई ३-१ ले पराजित गरेको थियो । त्यसअघि टोलीले अल्जेरिया र अस्ट्रियामाथि जित निकालेर समूह विजेता बनिसकेको थियो ।

जोर्डनविरुद्ध जियोभानी लो सेल्सोले फ्रिकिकमार्फत गोल गर्दै अग्रता दिलाएका थिए भने लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत दोस्रो गोल थपेका थिए । दोस्रो हाफमा मौसा अल तमारीले जोर्डनका लागि एक गोल फर्काए पनि बेन्चबाट मैदान प्रवेश गरेका कप्तान लियोनेल मेसीले प्रतियोगितामा आफ्नो छैटौं गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए । मेसीले यसअघि विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमान पार गरिसकेका छन् । जोर्डनविरुद्धको फ्रिकिक गोलसँगै उनले लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडीको इतिहास पनि रचेका छन् ।

ती सात खेलमा मेसीले ११ गोल गरेका छन् । साथै, विश्वकपका पछिल्ला पाँच नकआउट खेलमा उनले पाँच गोल र चार गोलका अवसर सिर्जना गर्दै कुल नौ गोलमा प्रत्यक्ष योगदान दिएका छन् । अर्जेन्टिनाका लागि स्थिर अवस्थाबाट आउने अवसरहरू फेरि निर्णायक बन्न सक्छन् । किनभने केप भर्डेले समूह चरणमा दुई खेलमा गोल खानबाट जोगिएको थियो । उसले स्पेन र साउदी अरेबियासँग गोलरहित बराबरी खेलेको थियो भने उरुग्वेसँग २-२ को रोमाञ्चक बराबरी गरेको थियो ।

केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाले दुई खेलमा कुनै गोल नखाई विश्वकप इतिहासमा ४० वर्ष वा सोभन्दा माथिका उमेरमा यस्तो उपलब्धि हासिल गर्ने तेस्रो गोलरक्षक बन्न सफल भएका छन् । यसअघि यो उपलब्धि पिटर शिल्टन र डिनो जोफले मात्र हासिल गरेका थिए । तीनवटै खेल बराबरी खेलेपछि केप भर्डे समूह ‘एच’ मा स्पेनपछि दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो। सन् २००२ मा सेनेगलपछि विश्वकप डेब्युमा पहिलो तीन खेल अपराजित रहने पहिलो टोली पनि केप भर्डे बनेको छ ।

सन् १९९८ मा चिलीपछि तीनवटै समूह खेल बराबरी खेल्दै नकआउट चरणमा पुग्ने पहिलो टोलीसमेत केप भर्डे बनेको छ । साथै, विश्वकपका पहिलो तीन खेल लगातार बराबरी खेल्ने टोलीहरूको सूचीमा वेल्स, क्यामरुन र आयरल्यान्डपछि केप भर्डेको नाम थपिएको छ । केप भर्डेको यो उपलब्धिले अर्जेन्टिनाविरुद्ध पनि आशा जगाउन सक्छ । अर्जेन्टिनाका पछिल्ला १३ विश्वकप नकआउट खेलमध्ये सात खेल निर्धारित ९० मिनेटभन्दा बाहिर पुगेका छन् । विश्वकप इतिहासमा सबैभन्दा धेरै ९० मिनेटपछि पुगेका नकआउट खेलको कीर्तिमान अर्जेन्टिना, जर्मनी र इटालीको समान ११ खेल रहेको छ ।

चार वर्षअघि अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई क्वार्टरफाइनलमा र फ्रान्सलाई फाइनलमा पेनाल्टी सुटआउटमार्फत हराएर उपाधि जितेको थियो । त्यसैले केप भर्डे पनि साविक विजेतालाई लामो समयसम्म दबाबमा राख्ने लक्ष्यमा हुनेछ ।

images

अर्जेन्टिना र केप भर्डेबीच यो पहिलो प्रतिस्पर्धात्मक भेट हुनेछ । अर्जेन्टिनाले विश्वकपमा अफ्रिकी टोलीविरुद्ध खेलेका पछिल्ला सात खेल लगातार जितेको छ । यद्यपि, अफ्रिकी टोलीसँगको आफ्नो पहिलो विश्वकप खेलमा भने सन् १९९० मा क्यामरुनसँग १-० ले पराजित भएको थियो । केप भर्डे विश्वकप डेब्युमै नकआउट चरणमा साविक विजेतासँग खेल्ने तेस्रो टोली बनेको छ । यसअघि सन् १९३८ मा नर्वे इटालीसँग २-१ ले पराजित भएको थियो भने सन् २००६ मा घाना ब्राजिलसँग ३-० ले पराजित भएको थियो ।

केप भर्डेले उत्तर तथा मध्य अमेरिकी क्षेत्रका टोलीविरुद्ध खेलेका पछिल्ला तीन खेलमध्ये सन् २०२२ मा इक्वेडरसँग १-० ले, यस वर्ष मार्चमा चिलीसँग ४-२ ले हार बेहोरेको थियो भने यस विश्वकपको समूह चरणमा उरुग्वेसँग २-२ को बराबरी खेलेको थियो ।

images