अध्यक्ष पुष्पकमल दाहालपक्षीय नेता एवं पार्टीको कोचिला राज्य समितिका इञ्चार्ज हरिबोल गजुरेलले शनिबार झापामा संस्थापन पक्षीय कार्यकर्ता भेलामा यस्तो आरोप लगाएका हुन्। ‘दरबारीया र अरु दक्षिणपन्थीहरुसँग मिलेर किरणजीहरु सेना समायोजन र शान्ति प्रक्रिया भाँड्न चाहन्थे’, गजुरेलले भने, ‘त्यही संकेत पाएर हामीले समायोजनको कुरामा अगाडि नै निर्णय लिएका हौं।’ माओवादी लडाकु शिविर नेपाली सेनाको मातहतमा ल्याउन चैत ३० सम्मको म्याद थियो। तर, विशेष समितिले २८ गते नै त्यसको निर्णय लिएको थियो।
‘जडसुत्रवादीहरु (वैद्यपक्ष) जसरी हुन्छ शान्ति र संविधान भाँड्न चाहन्छन्’, लेनिन जयन्तीको अवसरमा विर्तामोडमा आयोजित कार्यकर्ता भेलामा उनले भने, ‘तर अब उनीहरु चाहेर पनि सफल हुन सक्दैनन।’ प्रशिक्षण भनिएको कार्यक्रममा गजुरेलले आफ्नो मन्तब्यको अधिकांश समय मोहन वैद्य पक्षको आलोचनामा खर्चिएका थिए। शान्ति प्रक्रिया उत्साहजनकरुपमा प्रगतितिर लागेकाले संविधानको काम पनि निर्धारित समयमै हुने दाबी उनले गरे। गजुरेलसँग प्रधानमन्त्री बाबुराम भट्टराई पक्षीय केन्द्रीय सदस्य गंगा श्रेष्ठ पनि आएका थिए।
माओवादीको जिल्ला पार्टी कमिटीले आयोजना गरेको भेला वैद्य पक्षले भने बहिष्कार गरेको छ। संस्थापन पक्षले ‘जनसेनाघाति’ काम गरेको र त्यसको अनुमोदनका लागि गरिएको कार्यक्रम भएकाले बहिष्कार गर्नुपरेको वैद्य पक्षको भनाई छ। ‘जनसेनाघाति काम गरेपछि त्यसको अनुमोदनका लागि जिल्ला चहार्दै हिँडेका हुन्,’ कोचिला राज्य समितिका वैद्य पक्षीय सदस्य दयाराम दाहालले भने, ‘हामी त्यो जनसेनाघाति कामको पक्षमा छैनौं, त्यसैले भेला बहिष्कार गरेका हौं।’



