
इजरायल र प्यालेस्टाइनबीच जारी पछिल्लो द्वन्द्व १ हजार दिन पुगेको सन्दर्भमा जेरुसेलमस्थित इजरायली संसद नेसेट बाहिर विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले सन् २०२३ अक्टोबर ७ मा दक्षिण इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणका क्रममा देखिएको सुरक्षा र गुप्तचर निकायको असफलतामाथि राज्यस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन् । इजरायली अधिकारीहरूकाअनुसार अक्टोबर ७ को उक्त आक्रमणमा परी करिव १ हजार २ सय जनाको मृत्यु भएको थियो भने २ सय ५० भन्दा बढी व्यक्तिलाई बन्धक बनाइएको थियो ।
प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाउँदै अक्टोबर ७ को घटना र त्यसपछिको युद्ध सञ्चालनका विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने माग राखेका छन् । संसद भवन नजिकै भेला भएका प्रदर्शनकारीहरूलाई पछि प्रहरीले तितरबितर पारेको थियो ।


यो प्रदर्शन द्वन्द्व शुरु भएको १ हजार दिन पुगेको सन्दर्भमा देशभर आयोजित स्मृति सभा र विरोध कार्यक्रमहरूको एक हिस्सा हो ।

अक्टोबर ७ को आक्रमणपछि इजरायलले गाजा क्षेत्रमा व्यापक सैन्य अभियान शुरु गरेको थियो। यस अभियानका कारण गाजामा ठूलो संख्यामा मानवीय हताहती र भौतिक विनाश भएको छ । जसले गर्दा त्यहाँको मानवीय संकटप्रति अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गर्दै आएका छन् ।




