
दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतरा क्षेत्रमा कर्णाली राजमार्गबाट फोर्स गाडी करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको घटनामा एक जनाको शव फेला परेको छ भने अन्यको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शुक्रबार बिहान करिब ११: ३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्ण प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको संयुक्त टोली घटनास्थलमा परिचालन भई खोज तथा उद्धार कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । कर्णाली नदीको तीव्र बहावलाई ध्यानमा राख्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वय गरेर खोजी कार्य तीव्र बनाइएको छ ।


प्रहरीका अनुसार हालसम्म घटनास्थलबाट प्राप्त मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त विवरणका आधारमा गाडीमा चालकसहित पाँच जना सवार रहेको खुलेको छ । उनीहरूमा चालक तुलाराम सुबेदी, सहचालक रामप्रसाद सुबेदी, सिर्जना खड्का, मेखे तिरुवा र जेखे तिरुवा रहेका छन् ।
दुर्घटनामा मृत्यु भएका जेखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेका छन् । आवश्यक कानुनी प्रक्रिया र शव परीक्षणपछि शव परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडीमा थप यात्रु थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी अनुसन्धान तथा यथार्थ विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले घटनास्थल, सम्भावित स्थान, नदी किनार तथा अन्य जिल्लाका क्षेत्रमा समेत निरन्तर खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ ।






