चितवनका एमाले कार्यकर्ता संजय लामाको हत्या अभियोगमा पक्राउ परेका १२ जनाको मुद्दा फिर्ता लिन आज चितवन जिल्ला अदालतले अनुमति दिएको छ ।
नेपाल सरकारको अनुरोधमा जिल्ला न्यायाधीश भोलानाथ चौलागाईको एकल इजलासले यस्तो अनुमति दिएको हो । गत बर्षको भदौ १० गते चितवनको कविलास गाविसस्थित केराबारीमा गोली हानी लामाको हत्या भएको थियो । हत्याको आरोपमा चितवन तरुण दलका अध्यक्ष शिव पौडेलसहित ६ जनालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको थियो भने ५ जना फरार रहँदै आएका थिए ।
तर गत मंसिरमा चितवन जिल्ला कारागार आक्रमणमा शिव पौडेलको निधन भएपछि नेपाली कांग्रेसले पौडेल लगायतको मुद्धा फिर्ता गर्न दबाव दिंदै आन्दोलन गरेको थियो भने सरकारले त्यतिबेलै मुद्धा फिर्ता लिने आश्वास दिएको थियो । गत फागुन १५ गते सरकारले मुद्धा फिर्ता लिने निर्णय गरेअनुसार दिवंगत पौडेल, जेलमा रहेका ६ र फरार रहेका ५ जनाको मुद्धा फिर्ता लिइएको हो ।
यो र यस्तै निर्णयका कारण राजनीतिक आवरणमा आपराधिक प्रवृत्तिको संरक्षण भईरहेको भन्दै सर्वत्र आलोचना भएको छ ।