दैलेख दुर्घटना : तीन दिनदेखि कर्णाली नदीमा बस र यात्रु बेपत्ता

काठमाडौँ- दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ साङ्गेताडास्थित कर्णाली नदीमा बस खस्दा बेपत्ता गाडी तथा यात्रुको खोजी कार्य जारी छ। सशस्त्र प्रहरीका अनुसार तीन दिनदेखि खोजी कार्य जारी रहे पनि बस र यात्रुको अवस्था अज्ञात छ।

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले परिचालन गरेको डीएसपी शैलेन्द्र थापाले बताए। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार चार जना गोताखोरसहितको टोली असार १९ गते त्यसतर्फ पठाइएको थियो। आज  असार २० गते घटनास्थल पुगेर सोनार क्यामरा र म्याग्नेट प्रयोग गरेर १० जना गोताखोरले खोजी सुरू गरेको छ।

सो टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामरा, बोरोस्कोप क्यामरा र पानीमुनि ८ सय किलोसम्मको धातु तान्न सक्ने क्षमताको म्याग्नेट प्रयोग गरेको छ। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी असार १८ गते सडकबाट अन्दाजी चार सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

दुर्घटना भएको खबर पाउनासाथै उद्धारका लागि सशस्त्र प्रहरी बल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेश तथा थप मद्दतको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट समेत ६ जना गोताखोरसहितको टोली खटिएको थियो।

सोही दिन दुर्घटनास्थलमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको थियो। गाडी र अन्य यात्रुको अवस्था अहिलेसम्म अज्ञात छ। बसमा १४ जना यात्रु सवार रहेको प्रहरीको अनुमान रहे पनि यकिन हुन सकेको छैन।