पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानून वा अन्य कुनैपनि बहानामा त्रसित तुल्याउने सरकारको मनशाय नरहेको प्रष्ट पार्नुभएको छ ।
नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिवद्ध रहेको बताउनुभएको हो । सरकारले साइबरसँग सम्बन्धित विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था सिर्जना गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गर्नुभयो ।

आफूले सञ्चार माध्यमहरू बन्द नगरेको आरोप खेप्नुपरेको भन्दै उहाँले सञ्चार माध्यमलाई कसरी थप जिम्मेवार र व्यवस्थित बनाउने भन्ने विषयमा ध्यान दिन आग्रह गर्नुभयो । पत्रकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरामा सरकार जानकार रहेको स्पष्ट पार्नुभयो । पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य नरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘हामी पत्रकारिताको क्षेत्रलाई साइबर कानून वा अन्य कुनै कानूनको प्रयोग गरेर त्रसित पार्न अथवा दबाब सिर्जना गर्न सरकारमा आएका होइनौँ । यो कुरा स्पष्ट रूपमा बुझ्न आग्रह गर्दछु । तपाईंहरूले साइबरसँग सम्बन्धित विषयहरू के–के हुन् भन्नेकुरा पनि जानकारीमा राख्नुपर्छ । सरकारले त्यस्ता विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था बन्यो भने त्यो सबैभन्दा राम्रो हुन्छ । तर कहिलेकाहीँ यति धेरै गुनासाहरू आउँछन् कि एउटा मन्त्रीका रूपमा मैले दिनदिनै यो किन बन्द नगरेको ?, त्यो किन बन्द नगरेको ? भन्दै सञ्चार माध्यमहरू बन्द नगरेको आरोप खेप्नुपरेको हुन्छ । त्यसैले सञ्चार क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाले सञ्चार माध्यमलाई कसरी थप जिम्मेवार र व्यवस्थित बनाउने भन्ने विषयमा पनि ध्यान दिनुभयो भने सरकारलाई काम गर्न सहज हुन्छ । पत्रकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरा सरकारलाई राम्रोसँग थाहा छ ।

तर सरकार विभिन्न पक्षप्रति जवाफदेही हुनुपर्ने बाध्यताका कारण कहिलेकाहीँ केही विषयमा फरक परिस्थिति सिर्जना हुनसक्छ । यद्यपि पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य छैन । यो कुरा म स्पष्ट रूपमा भन्न चाहन्छु । हामी यो क्षेत्रलाई बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन सधैँ तयार छौँ । तर गैरकानूनी माग वा विषय लिएर सञ्चार मन्त्रालयमा नआउनुहोला । त्यो स्वीकार्य हुँदैन । म सञ्चार क्षेत्रको हित, संरक्षण र उन्नयनका लागि काम गर्न पूर्णरूपमा तयार छु ।’

मन्त्री तिमिल्सिनाले सरकार सञ्चार क्षेत्रलाई अझ बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन तयार रहेको जिकिर गर्नुभयो । कुनैपनि गैरकानूनी माग वा विषय लिएर सञ्चार मन्त्रालयमा नआउन पनि उहाँले चेतावनी दिनुभयो ।