माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष ओलीको तुलनामा आफूलाई कमजोर पार्न अन्य कसैको पनि सामथ्र्य नरहेको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

प्रधानमन्त्री बालेन्द्र साहसँग आफूलाई सिध्याउने सामथ्र्य नरहेको र आफूलाई कमजोर पार्ने गतिविधिमा ओलीको हाइटमा प्रधानमन्त्री साह नरहेको पनि जिकिर गर्नुभयो । आफूहरुले गल्ती गरेको भए ओलीले पहिल्यै आफूहरुलाई जेलमा हाल्नेसम्मको षड्यन्त्र बुनेको आरोप लगाउनु भयो ।

ओलीले आफूहरुलाई कमजोर पार्न सबै सामथ्र्य लगाएको पनि उहाँको आरोप छ ।

संयोजक दाहालले भन्नुभयो, ‘ हामी महाधिवेशनसम्म राम्रोसँग पार्टी बनाऊँ युवाहरूलाई ल्याऊँ नयाँ नेतृत्वको टिम बनाऊँ । महाधिवेशन पछि मलाई त यहाँ दिनदिनै जेल हाल्ने कुरा आउँछ माधवजीलाई त मुद्दा लड्काएको छ पहिलेको सरकारले । प्रचण्डको कहिले १४० अर्ब छ दुबईमा भन्या छ तपाईंहरू पनि दिमाग खराब भएको होला तीन चोटी त प्रधानमन्त्री भइसक्यो जस्तो लाग्दो हो । कताकता के–के हो के–के । केही भएको भए यो अहिलेको सरकारले गर्न पर्दैनथ्यो । यो बालेनजीको सरकारले माधवलाई र मलाई केही गर्न पर्दैनथ्यो केपी ओलीले काफी थियो । केपी ओलीले यति खोजेको हुन् हाम्रो कहाँ छ कति छ यिनलाई फसाउने कसरी र सिध्याउने कसरी भन्नेमा केपीको हाइटमा बालेनजी छैनन् हामीलाई सिध्याउने । तर हामी फेरि वामपन्थी आन्दोलन चाहिन्छ भनेर फेरि सहकार्यको कुरा पनि गरिराखेकै हुन्छौँ । अब यो हाम्रो जिम्मेवारी बोध भन्नुस् उदारता भन्नुस् ।’

पार्टीका सहसंयोजकलाई अघिल्लो सरकारले मुद्दा लगाएर राखेको र आफ्नो बारेमा दुबईमा १ सय ४० अर्ब छ भनेर भ्रम फिँजाइएको भन्दै असन्तुष्टि जनाउनु भयो ।