
अस्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयले कोअलाको वंशाणुगत विविधता जोगाउन पहिलो पटक व्यवस्थित ‘स्पर्म र एग बैंक’ (शुक्रकीट र डिम्ब बैंक) स्थापना गर्ने भएको छ । बासस्थानको विनाश र विभिन्न रोगका कारण संकटमा पर्दै गएको यो प्रजातिको संरक्षणका लागि यो पहल चालिएको हो ।
विश्वविद्यालयद्वारा जारी विज्ञप्ति अनुसार यो परियोजनाले कोअलाको अस्तित्वका लागि ‘अति आवश्यक आनुवंशिक सुरक्षा कवच’ को रूपमा काम गर्नेछ । विश्वविद्यालयका प्रजनन जीवविज्ञानी एन्ड्रेस गाम्बिनीले वन्यजन्तु अस्पतालहरूमा कोअलाको मृत्यु हुँदा हाल गुमिरहेको महत्वपूर्ण आनुवंशिक सामग्रीलाई यस बैंकमार्फत सुरक्षित गरिने बताउनु भयो ।

‘वंशाणुगत विविधताको अभावले भावी पुस्तालाई कमजोर बनाउनुका साथै वातावरणमा आउने चुनौतीहरूसँग अनुकूल हुने क्षमतामा कमी ल्याउँछ’ गाम्बिनीले भन्नुभयो । यो परियोजनाले सुरक्षित र व्यवस्थित रूपमा कोअलाको शुक्रकीट र डिम्ब संकलन गरी भविष्यका संरक्षण कार्यक्रमका लागि सुरक्षित राख्ने उहाँको भनाइ छ । यो पहल क्वीन्सल्याण्ड विश्वविद्यालयको ‘मार्सुपियल’ प्रजनन क्षेत्रको लामो अनुभव र विज्ञतामा आधारित छ । यसअघि यही विश्वविद्यालयले कृत्रिम गर्भाधानमार्फत विश्वकै पहिलो कोअलाको जन्म गराउनुका साथै कंगारुको आईभीएफ प्रविधिमा समेत महत्त्वपूर्ण सफलता प्राप्त गरिसकेको छ ।


अनुसन्धानकर्ताहरूका अनुसार मृत वा प्रजनन गर्न नसक्ने कोअलाहरूबाट सङ्कलन गरिएका नमुनाहरूको वंशाणुगत गुण र स्वास्थ्य परीक्षण गरिनेछ । कोअलाको प्रजनन क्षमतामा गम्भीर असर पु¥याउने ‘क्लामिडिया’ जस्ता संक्रमणहरूलाई प्रजनन नमुनाबाट हटाउन सकिने प्रविधि समेत विकसित गरिएको छ ।
वन्यजन्तु प्रजनन विशेषज्ञ सह–प्राध्यापक स्टिभ जोन्स्टनकाअनुसार सङ्कलित प्रजनन कोषहरूलाई विश्वविद्यालयको ग्याटन क्याम्पसमा तरल नाइट्रोजनमा भण्डारण गरिनेछ । यी नमुनाहरूलाई भविष्यमा कृत्रिम गर्भाधान वा आईभीएफ कार्यक्रमहरूमा प्रयोग गर्न सकिनेछ ।

गाम्बिनीका अनुसार यो ‘कोअला बैंक’ बासस्थान संरक्षण, रोग व्यवस्थापन र जनसंख्या अनुगमन जस्ता प्रयासहरूको विकल्प नभई एक सहायक प्रणाली हो । प्रजनन प्रविधिमा निरन्तर सुधार भइरहँदा यो बैंकले कोअलाको विविधता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।




