सुन–चाँदीको मूल्यमा गिरावट, आज प्रतितोला सुन ९ सय र चाँदी २० रुपैयाँले सस्तो

काठमाडौं, असार २२ — नेपाली बजारमा सोमबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ। यो मूल्य आइतबारको तुलनामा ९ सय रुपैयाँले घटेको हो। आइतबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँले घटेर ४ हजार ५ सय ८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा उतारचढाव जारी रहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरको विनिमय दर तथा माग–आपूर्तिको अवस्थाअनुसार नेपाली बजारमा पनि दैनिक रूपमा सुन–चाँदीको मूल्य निर्धारण हुने गर्दछ।