रहस्यमय रूपमा एकैपटक दुई ब्याउने भैंसी र पाडी मरेपछि अर्घाखाँचीका किसानमा त्रास, पानी खाएलगत्तै ढलेका पशुको कारणबारे अनुसन्धान सुरु

रहस्यमय रूपमा एकैपटक दुई ब्याउने भैंसी र पाडी मरेपछि अर्घाखाँचीमा त्रास, पानी खाएलगत्तै ढलेका पशुको कारणबारे अनुसन्धान सुरु, छत्रदेव–३ आरुगैराको घटनापछि पशु चिकित्सकको टोली घटनास्थलमा, नमुना संकलन गरी प्रयोगशाला पठाइयो, किसानलाई सतर्क रहन आग्रह
  • केशब पन्थी, अर्घाखाँची डटकम।

असार २२,  अर्घाखाँची- अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ आरुगैरामा एक किसानका दुई वटा ब्याउने भैंसी र एउटा पाडी पानी खाएलगत्तै रहस्यमय रूपमा मरेपछि स्थानीय क्षेत्रमा चिन्ता र त्रास फैलिएको छ। घटनाले किसानलाई ठूलो आर्थिक क्षति पुर्‍याएको छ भने आसपासका पशुपालक किसानसमेत सतर्क बनेका छन्।

May be an image of one or more people

स्थानीय किसान राधा पाण्डेका अनुसार बिहान नियमित रूपमा पानी खुवाइएका भैंसीहरूले केहीबेरमै अस्वाभाविक व्यवहार देखाउन थालेका थिए। हेर्दाहेर्दै दुई वटा ब्याउने भैंसी र एउटा पाडी मरेपछि परिवारसहित गाउँ नै स्तब्ध बनेको छ। घटना हुनुअघि पशुहरू पूर्ण रूपमा स्वस्थ रहेको उहाँले बताउनुभयो।

May be an image of one or more people and tree

घटनाको जानकारी प्राप्त हुनासाथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, अर्घाखाँचीका निमित्त कार्यालय प्रमुख विष्णु प्रसाद पौडेलको नेतृत्वमा प्राविधिक टोली घटनास्थल पुगेको थियो। टोलीले मृत पशुको स्थलगत निरीक्षण गरी आवश्यक नमुना संकलन गरेर प्रयोगशाला परीक्षणका लागि पठाएको जनाएको छ। परीक्षण प्रतिवेदन आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने जनाइएको छ।

पशु चिकित्सक डा. हकिकत अलीले प्रारम्भिक रूपमा पानी, दाना वा कुनै विषाक्त पदार्थको प्रभाव हुन सक्ने अनुमान गरिए पनि अहिले नै निश्चित निष्कर्षमा पुग्न नमिल्ने बताउनुभयो। उहाँले किसानलाई पशुलाई खुवाइने पानी र दानाको गुणस्तरमा विशेष ध्यान दिन तथा कुनै असामान्य लक्षण देखिए तुरुन्त प्राविधिकलाई खबर गर्न आग्रह गर्नुभयो।

May be an image of one or more people and tree

घटनापछि छत्रदेव गाउँपालिकाकी उपाध्यक्ष मनि पन्थी, गाउँपालिकाको पशु शाखा, बल्कोट प्रहरी तथा सम्बन्धित निकायका प्रतिनिधिहरू घटनास्थल पुगेका थिए। उनीहरूले पीडित किसानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

No photo description available.

वडा नं. ३ का अध्यक्ष तेजप्रसाद खनालले घटनालाई गम्भीर रूपमा लिइएको बताउँदै परीक्षण प्रतिवेदनपछि आवश्यक थप कदम चालिने जानकारी दिनुभयो।

images

स्थानीय किसान भरत पोखरेलले एउटै गोठका स्वस्थ पशु एकैपटक मर्नु अत्यन्तै दुःखद र चिन्ताजनक घटना भएको बताउँदै वास्तविक कारण छिट्टै सार्वजनिक गरी अन्य किसानका पशुधन सुरक्षित राख्न सम्बन्धित निकायसँग आग्रह गर्नुभयो।

स्थानीयवासीले घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविक कारण सार्वजनिक गर्न तथा गाउँपालिकाभर पशु स्वास्थ्य निगरानीलाई थप प्रभावकारी बनाउन माग गरेका छन्।

images