
भारतको आर्थिक राजधानी मुम्बईमा भारी वर्षाका कारण एक तीनतले आवासीय भवन भत्किँदा ६ जनाको मृत्यु भएको छ । आईतवार राति भएको उक्त दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार महाराष्ट्रको राजधानी मुम्बईस्थित मानखुर्द क्षेत्रको जनता नगरमा उक्त आवासीय भवनको एक हिस्सा भत्किएको हो ।
बृहन्मुम्बई नगर निगम (बीएमसी) ले दिएको जानकारीअनुसार घटनालगत्तै उद्धार टोलीहरू परिचालन गरी भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य शुरु गरिएको थियो ।


भवन भत्किनुको ठोस कारणबारे हाल अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् । घटनास्थलमा उद्धार र भग्नावशेष व्यवस्थापनको कार्य जारी रहनुका साथै आसपासका अन्य संरचनाहरूको जोखिमसमेत आकलन भइरहेको छ । मुम्बईमा आइतबारदेखि नै भीषण वर्षा भइरहेको छ, जसका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।

वर्षाकै कारण मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा करिव एक घण्टा अवरुद्ध भएको थियो भने सहरका विभिन्न सडकहरू जलमग्न भएका छन् । भारतीय मौसम विज्ञान विभागले मुम्बईमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै रेड अलर्ट जारी गरेको छ । भारी वर्षाका कारण मुम्बई र पुणे जोड्ने एक्सप्रेसवेमा समेत पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको छ । शहरका विभिन्न स्थानमा रूखहरू ढलेका विवरणहरू पनि प्राप्त भएका छन् ।




