कोलम्बियालाई टाइब्रेकरमा पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । स्विट्जरल्यान्डले कोलम्बियालाई टाइब्रेकरमा ४- ३ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

भ्यानकुभरस्थित बिसी प्लेसमा भएको अन्तिम- १६ को प्रतिस्पर्धामा निर्धारित ९० मिनेट र त्यसपछि थपिएको अतिरिक्त समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

टाइब्रेकरमा स्विट्जरल्यान्डका गोलरक्षक ग्रेगोर कोबेल नायक बने । उनले कोलम्बियाका कुचो हेर्नान्डेजको पेनाल्टी शानदार ढंगले बचाउँदै टोलीलाई जित दिलाए । यसअघि कोलम्बियाका डाभिन्सन सान्चेजको प्रहार बारमा लागेको थियो भने स्विट्जरल्यान्डका मानुएल अकान्जीले आफ्नो पेनाल्टी गोलपोस्टमाथिबाट बाहिर प्रहार गरेका थिए ।

स्विट्जरल्यान्डका ग्रानिट झाका, जेकी आम्दुनी, सेड्रिक इटेन र रुबेन भार्गासले पेनाल्टीमा सफल प्रहार गर्दै टोलीलाई ४-३ को जित दिलाए ।

खेलभर दुवै टोलीले धेरै स्पष्ट अवसर सिर्जना गर्न सकेनन् । कोलम्बियाका जोन लुकुमीको हेडर क्रसबारमा लागेको थियो भने विकल्प खेलाडी जामिन्टन काम्पाजको शक्तिशाली प्रहारलाई कोबेलले उत्कृष्ट बचाउ गरेका थिए । अतिरिक्त समयको अन्त्यतिर काम्पाजले उत्कृष्ट अवसर गुमाउँदा कोलम्बियाले खेल आफ्नो पक्षमा पार्ने मौका पनि गुमाएको थियो । त्यसको मूल्य उसले टाइब्रेकरमा हार बेहोरेर चुकाउनुपर्यो ।

सन् १९५४ यता पहिलो पटक विश्वकपको अन्तिम आठमा पुगेको स्विट्जरल्यान्डले अब क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।