टी- २० मा भारतको सबै भन्दा ठुलो हार, इङल्याण्ड १२५ रनले विजयी

काठमाडौँ । इङल्याण्डले तेस्रो टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई १२५ रनको फराकिलो अन्तरले पराजित गर्दै पाँच खेलको सिरिजमा २- ० को अग्रता बनाएको छ । भारतका लागि यो टी- २० अन्तर्राष्ट्रियमा रनका आधारमा अहिलेसम्मकै सबैभन्दा ठूलो हार हो ।

पहिले ब्याटिङ गरेको इङल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०१ रन बनाएको थियो । २०२ रनको लक्ष्य पछ्याएको भारत ११.४ ओभरमै ७६ रनमा अलआउट भएको थियो ।

भारतको ब्याटिङ पूर्ण रूपमा असफल रह्यो । टोलीका केवल चार ब्याटरले मात्र दोहोरो अंक छोए भने कुनै पनि खेलाडीले १३ रनभन्दा बढी बनाउन सकेनन् । कमजोर प्रदर्शनका कारण भारतले ऐतिहासिक हार बेहोर्न बाध्य भयो ।

यसअघि टी-२० मा भारतको सबैभन्दा ठूलो हार सन् २०१९ मा न्युजिल्यान्डविरुद्ध भएको थियो, जहाँ वेलिङ्टनमा भारत ८० रनले पराजित भएको थियो । त्यसपछि सन् २०२६ मा दक्षिण अफ्रिकाले पनि भारतलाई ७६ रनले हराएको थियो । तर इङल्याण्डसँगको १२५ रनको हारले ती सबै कीर्तिमानलाई उछिनेको छ ।

श्रेयस अय्यरको कप्तानीमा भारतले हालसम्म एक खेल पनि जित्न सकेको छैन । यसअघि आयरल्यान्डसँगको सिरिज २-० ले गुमाएको भारत अहिले इङल्याण्डविरुद्ध पनि पछाडि परेको छ । सिरिजका अब दुई खेल मात्र बाँकी रहेकाले भारतले अब सिरिज जित्न सक्ने सम्भावना समाप्त भएको छ । बाँकी दुवै खेल जिते मात्र भारतले शृंखला बराबरी गर्न सक्नेछ ।

यो टूर भारतका लागि निकै निराशाजनक बनेको छ । टोली लगातार पाँच टी-२० खेलमा जितविहीन रहेको छ । यस अवधिमा चार खेलमा हार बेहोरेको भारतको एक खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो । यसअघि भारतले सन् २००९ र सन् २०२१ मा लगातार चार-चार टी-२० खेल हारेको थियो । इङल्याण्ड र भारतबीचको चौथो खेल बिहीबार ब्रिस्टलमा हुनेछ ।