
काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले रुसी ओलम्पिक समितिमाथिको निलम्बन अस्थायी रूपमा हटाएपछि सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा रुसी खेलाडीले आफ्नै देशको नामबाट प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि आईओसीले सन् २०२३ मा रुसी ओलम्पिक समितिलाई निलम्बन गरेको थियो । तर अहिले उक्त प्रतिबन्ध लागू नहुने जनाउँदै आवश्यक डोपिङसम्बन्धी मापदण्ड पूरा गर्ने रुसी खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन दिने निर्णय गरिएको छ ।


यद्यपि, ओलम्पिकमा रुसको राष्ट्रिय झण्डा, राष्ट्रिय गान र राष्ट्रिय रङ प्रयोग गर्न दिने वा नदिने विषयमा भने अझै निर्णय भएको छैन । आईओसीले रुसमा आफ्ना प्रतियोगिता आयोजना नगर्ने तथा रुसी सरकारी अधिकारीलाई आफ्ना कार्यक्रममा निमन्त्रणा नदिने नीति भने यथावत् रहने जनाएको छ ।

सन् २०२४ को पेरिस ओलम्पिक र यस वर्षको शीतकालीन ओलम्पिकमा केही रुसी खेलाडी तटस्थ हैसियतमा सहभागी भएका थिए । पेरिस ओलम्पिकमा रुस र बेलारुसका ३२ खेलाडीले पाँच पदक जितेका थिए । जबकि सन् २०२१ को टोकियो ओलम्पिकमा रुसका ३०० भन्दा बढी खेलाडीले सहभागिता जनाउँदै ७१ पदक जितेका थिए ।
रुसले आईओसीको निर्णयलाई स्वागत गर्दै ओलम्पिक खेल राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने प्रतिक्रिया दिएको छ । रुसी खेलमन्त्री मिखाइल देग्त्यारेभले सन् २०२८ ओलम्पिकका छनोट प्रतियोगितामा सहभागी हुने तयारी भइरहेको बताएका छन् ।

आईओसीले भने युक्रेनमाथिको रुसी आक्रमणको कडा निन्दा गर्दै सरकारको युद्धमा संलग्नताका कारण खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता रोक्न नहुने आफ्नो धारणा दोहोराएको छ ।
यता, विश्व एथलेटिक्स महासंघले भने बेलारुसका खेलाडीलाई आफ्नै राष्ट्रिय झण्डामुनि खेल्न दिने आईओसीको सिफारिस अस्वीकार गरिसकेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघले पनि आईओसीको निर्णयको अध्ययन गरेर रुसमाथिको प्रतिबन्धबारे थप निर्णय लिने जनाएको छ ।

यो निर्णयपछि युक्रेनमाथिको आक्रमण जारी रहेका बेला रुसलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्न दिनु गलत भएको मिश्रित प्रतिक्रिया आएको छ ।




