
नयाँदिल्ली, २३ असार । अमेरिकामा ठगीको आरोप खेपिरहेका भारतीय मूलका व्यवसायी गौरव श्रीवास्तवमाथि अब इन्डोनेसियामा पनि ठूलो घोटाला गरेको आरोप लागेको छ।
इन्डोनेसियाली पत्रिका ‘टेम्पो’ का अनुसार श्रीवास्तवले आफूलाई सीआईए एजेन्टको रूपमा प्रस्तुत गरेर इन्डोनेसियाली राष्ट्रपति प्राबोवो सुबियान्तो (तत्कालीन रक्षामन्त्री) को विश्वास जितेका थिए र रक्षा सम्झौताको आवरणमा ४ अर्ब २५ करोड भारतीय रुपैयाँ बराबरको नक्कली ऋण लिएका थिए।

समाचार अनुसार गौरव दाबी गर्थे कि उनले ३६ वटा एफ–१५ लडाकु विमान, ब्ल्याक हक हेलिकप्टर र सैन्य कमान्ड प्रणालीको खरिद प्रक्रिया सहज बनाउन सक्छु भनेर उक्त रकम ठगी गरेका हुन । तर, अनुसन्धानबाट के पत्ता लाग्यो भने उनले रक्षा सम्बन्धी पाँचवटा सम्झौताहरू, जुन चारवटा कम्पनीमार्फत गरेका थिए, ती सबै ‘शेल कम्पनी’ अर्थात कागजमा मात्र सीमित कम्पनी थिए।


त्यो पनि पछि कर नतिरेका कारण ती कम्पनीहरू बन्द गरिए। केवल ३६ वटा एफ–१५ लडाकु विमानको सम्भावित सम्झौताको मूल्य नै करिब १.३२ लाख करोड भारतीय रुपैयाँ बराबरको थियो।
यो कथित ठगी सन् २०२० देखि २०२२ को बीचमा भएको बताइएको छ। गौरव माथि यी रकम प्रयोग गरेर लस एन्जलसमा करिब २०८ करोड भारु मूल्यको एउटा विलासी बंगला खरिद गरेको आरोप छ। सन् २०२४ यता अमेरिकामा उनीविरुद्ध ठगी लगायतका विभिन्न मुद्दाहरू दर्ता भएका छन्।

समाचार अनुसार गौरवले प्राबोवोको विश्वास यति हदसम्म जितेका थिए कि उनलाई ‘मिस्टर जी’ भनेर सम्बोधन गर्दथे ।उनले राष्ट्रपतिसँग सम्बन्धित त्यस्ता व्यक्तिगत जानकारीसमेत प्रयोग गरेका थिए जुन उनका निकटतम सहयोगीहरूलाई मात्र थाहा थियो। यसमा यो कुरा पनि समावेश थियो कि राष्ट्रपति प्राबोवो आफ्नो घरमा रहेका माकुराका जालोलाई प्रकृतिको अंश मान्छन् र तिनलाई सफा गराउँदैनन्।
गौरवले सन् २००२ को बाली बम विष्फोटका लागि जिम्मेवार आतंकवादीहरूलाई पक्राउ गर्न तथा प्राबोवोको नाम अमेरिकी आप्रवासन सम्बन्धी ‘ब्ल्याक लिस्ट’बाट हटाउन सहयोग गरेको दाबी पनि गरेका थिए ।

इन्डोनेसियाली रक्षा मन्त्रालयका प्रवक्ता रिको सिराइतले छलफलमा रहेका रक्षा सम्झौताहरू अन्तिम सम्झौताको चरणसम्म नपुगेको र त्यसैले सरकारलाई कुनै प्रत्यक्ष आर्थिक नोक्सानी नभएको बताए।




