यूनाइटेड अजोड इन्स्योरेन्सको ६३ हजारभन्दा बढी सेयर खुला प्रतिस्पर्धाबाट बिक्री हुने

काठमाडौं, २४ असार । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले हकप्रद निष्कासनपछि बाँकी रहेको संस्थापक समूहको ६३ हजार ८४७ कित्ता सेयर पुनः बिक्रीमा ल्याउने भएको छ। यसअघि हकप्रद सेयर बिक्रीका क्रममा आवेदन नपरेपछि कम्पनीले उक्त सेयर बोलकबोल (लिलामी) प्रक्रियामार्फत बिक्री गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार लिलामीका लागि आवेदन असार २५ गतेदेखि खुल्नेछ। यसपटक भने बिक्रीमा राखिएको सेयर खरिदका लागि व्यक्ति, कम्पनी तथा विभिन्न संघ–संस्थासहित योग्य सबै इच्छुक आवेदकले प्रतिस्पर्धात्मक रूपमा आवेदन दिन सक्नेछन्।

बोलकबोलमा सहभागी हुन प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ। आवेदन दिँदा कम्तीमा १०० कित्ता र बढीमा बिक्रीमा राखिएको सम्पूर्ण ६३ हजार ८४७ कित्तासम्मका लागि खरिद प्रस्ताव पेश गर्न सकिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटल लिमिटेड तथा लक्ष्मी सनराइज बैंक लिमिटेड का विभिन्न शाखा कार्यालयमार्फत बोलपत्र पेश गर्न सक्नेछन्। आवेदन विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढीस्थित शाखाबाट समेत बुझाउन सकिने व्यवस्था गरिएको छ।

कम्पनीले बोलपत्र पेश गर्ने अन्तिम मिति साउन १ गते तोकेको छ।