अफगानिस्तानमा अत्याधिक गर्मीः शीतल खोज्दै नदी र पौडी पोखरीमा सर्वसाधारणको भीड

अफगानिस्तानमा पछिल्लो समय गर्मीको लहर तिब्र बनेसँगै जनजीवन कष्टकर भएको छ । अत्यधिक तापक्रमबाट बच्न र शरीर शीतल राख्नका लागि त्यहाँका स्थानीय बासिन्दाहरू नदी, खोला र पौडी पोखरीहरूमा आकर्षित हुन थालेका छन् । विगत केही सातादेखि अफगानिस्तानका प्रमुख भू–भागहरूमा तापक्रम उल्लेख्य रूपमा वृद्धि भएको छ ।

दिउँसोको समयमा तापक्रम औसत ३० देखि ३५ डिग्री सेल्सियस रहने गरेको छ भने कतिपय सहरहरूमा यो ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गरेको छ । विद्युत आपूर्तिमा हुने नियमित अवरोध र आधुनिक कुलिङ प्रणालीको अभावले शहरी क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको सास्ती थप बढाएको छ ।

काबुल निवासी अहमद जवादका अनुसार यस वर्षको गर्मी विगतका वर्षहरूको तुलनामा निकै बढी छ अर्का स्थानीय अहमद सियारले पनि गर्मी सहन नसकेर मानिसहरू खोलानाला र पौडी पोखरीमा झुम्मिएको बताए ।

जलवायु परिवर्तनको गम्भीर असर खेपिरहेको अफगानिस्तानले पछिल्लो समय लगातारको खडेरी, भीषण वर्षा, बाढी र पहिरो जस्ता प्राकृतिक विपत्तिको सामना गरिरहेको छ । आधिकारिक तथ्याङ्क अनुसार यस वर्ष मात्रै बाढी र वर्षाका कारण ३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ४०० भन्दा बढी घाइते भएका छन् । प्राकृतिक विपत्तिका कारण हजारौँ घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

जलवायु परिवर्तनकै अर्को पाटोका रूपमा भूमिगत जलस्तरमा आएको ह्रासले गर्दा धेरै सहरहरूमा खानेपानीको चरम संकट उत्पन्न भएको छ । काबुल जस्ता ठूला सहरमा सर्वसाधारणहरू खानेपानीका लागि दैनिक सार्वजनिक धाराहरूमा लामो समय लाइन बस्न बाध्य छन् । स्थानीय पौडी पोखरीका प्रवन्धक रोहुल्लाहका अनुसार गर्मी बढेसँगै पोखरीमा आउनेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । यस वर्षको प्रचण्ड गर्मी र जलवायुजन्य चुनौतीहरूले अफगानिस्तानको जनजीवनलाई थप कष्टकर बनाएको छ ।