
संयुक्त राष्ट्रसंघकी उपमहासचिव अमिना मोहम्मदले आगामी महासचिवको निर्वाचनमा आफू उम्मेदवार नहुने स्पष्ट पार्नुभएको छ । मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफू यस पदको दौडमा नरहेको जानकारी दिनुभएको हो । सम्बोधनका क्रममा उपमहासचिव मोहम्मदले भन्नुभयो, ‘महासचिव पदको उम्मेदवार बन्ने मेरो कुनै मनशाय छैन ।
महासचिवको जिम्मेवारी अत्यन्तै गम्भीर र महत्वपूर्ण हुन्छ । विगत साढे नौ वर्षदेखि महासचिव एन्टोनियो गुटेरेससँग सहकार्य गर्न पाउनु मेरा लागि गर्व र सम्मानको विषय हो ।’


उहाँले राष्ट्रसंघको नेतृत्वमा क्षेत्रीय चक्रीय प्रणालीको पालना हुनुपर्नेमा जोड दिँदै अबको पालो ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको भएको धारणा व्यक्त गर्नुभयो । मोहम्मदले थप्नुभयो, ‘मलाई लाग्छ अब ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रबाट कुनै महिला उम्मेदवारले यस संस्थाको नेतृत्व सम्हाल्नुपर्छ । यो नै वर्तमान समयको आवश्यकता हो ।

विश्वलाई अहिले जुन सद्भाव र उपचारको खाँचो छ, त्यो सोही क्षेत्रकी महिला उम्मेदवारबाट पूरा हुने मेरो विश्वास छ ।’
आफ्नो भविष्यको योजनाबारे चर्चा गर्दै उहाँले वर्तमान जिम्मेवारी पूरा गरेपछि आफ्नो गृहदेश नाइजेरिया फर्किएर सेवा गर्ने इच्छा व्यक्त गर्नुभयो ।
हाल संयुक्त राष्ट्रसंघको आगामी महासचिव पदका लागि ६ जना उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा छन्, जसमा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका चार महिला समावेश छन् ।वर्तमान महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल यसै वर्षको अन्त्यमा समाप्त हुँदैछ ।





