
प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले सभामुृख डोलप्रसाद अर्यालले आवेशमा आएर आफूले बोल्दै गर्दा माईक काटनु भएको गुनासो गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा सभामुखज्यूले कान सुन्नुहुन्छ कि हुन्न ? भनि अभिव्यक्ति दिन शुरु गरेपछि सभामुख अर्यालले माईक काट्दै बोल्न रोक लगाउनुभएको थियो ।
सोही कारण संसद बैठक १५ मिनेटका लागि स्थगित नै गरिएको थियो । संसदको दोस्रो बैठकमा फेरि बोल्ने समय पाउनुभएका सांसद राईले आफूले भनेको शब्द समेत सुन्न नपाई सभामुख अर्यालले आवेशमा आएर माईक काटदा समस्या भएको जिकिर पनि गर्नुभयो । उहाँले आफ्नो सभामुख अर्यालप्रति सधै सम्मान रहेको पनि दोहो¥याउनु भयो ।


उहाँले भन्नुभयो,‘तपाईलाई मेरो सम्मान छ, आदर छ । यत्रो जनताले चुनेर आएको सभामुख हो । तर मलाई के मनका लाग्यो भने मैले भाषा मिलाउन खोज्दै थिए, कुरा गर्न खोज्दै थिए । तपाईले भनेको म मान्दै थिए । तर त्यसो नगर्दा राम्रो हुन्थ्यो । मलाई के लाग्यो भने यत्रो सदनमा यत्रो माननीयज्यूहरु हुनुहुन्छ । कसैले कुरा गर्दाखेरी आफनो भावना त राख्न पाउनुप¥यो नि ।

यो विधिमा नै थियो । विधि भन्दा बाहिर थिएन । विधि मिच्ने काम सरकारले गरिराखेको छ । संसदमा डाक्दा नआउने सरकार कस्तो हुन्छ ? जवाफ दिनुपर्छ भन्दा प्रधानमन्त्री आउनु परेन । यसका लागि बहुत दमदार ढंगले कुरा राख्ने इच्छा थियो मेरो आज । तर मेरो कारणले १५ मिनेट स्थगित भयो । सबै माननीयज्यूहरुले पनि भन्नु भयो, तपाई सधैं स्थगित गर्नु हुन्छ । म एउटा कुरा भन्न चाहन्छु–हामी सत्यको पक्षमा, सामाजिक न्यायको पक्षमा, जहिले पनि बोल्दै आएको हुनाले मैले अघि भाषा मिलाउन खोज्दै थिए । त्यतिबेला म आत्तिएको थिइन । मैले भनेको शब्द नै सुन्न नपाई सभामुखज्यूले माईक काटिदिनु भयो । यसमा म के भन्न चाहन्छु भने कतिपय कुराहरु आवेगमा आउँदा पनि समस्या हुँदो रहेछ ।’
त्यस अवसरमा सांसद राईले प्रधानमन्त्री बालेन्द्र साहले संसदप्रति उत्तरदायी नभएर विधि मिच्ने काम गरेको आरोप पनि लगाउनु भयो ।





