कराँची नजिक पाकिस्तानी कार्गो विमान सम्पर्कविहीन, खोजी अभियान जारी

काठमाडौँ । युएईको शारजाहबाट कराँची आउँदै गरेको पाकिस्तानको एक कार्गो विमान मंगलबार राति कराँची पुग्नुअघि सम्पर्कविहीन भएको छ । विमानमा पाँच जना चालक दलका सदस्य सवार थिए ।

पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार राति ९: १८ बजे पाइलटले नेभिगेसन प्रणालीमा समस्या आएको जानकारी दिएका थिए । त्यसको केही मिनेटपछि विमानसँगको सम्पर्क टुटेको थियो । विमानलाई अन्तिम पटक कराँचीबाट करिब २८७ किलोमिटर पश्चिमतर्फ ट्र्याक गरिएको थियो ।

घटनापछि अरब सागरमा पाकिस्तान नौसेना, वायुसेना र अन्य निकायले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको बताइएको छ । हालसम्म विमान दुर्घटनाग्रस्त भएको वा मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन । प्रारम्भिक विवरणअनुसार विमान अरब सागरमा खसेको हुन सक्ने आशंका गरिएको भए पनि यसको पुष्टि हुन बाँकी छ ।