
काठमाडौँ । अनुभवी सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिचले विम्बल्डन इतिहासकै सबैभन्दा लामो पुरुष एकल क्वार्टरफाइनल जित्दै लगातार आठौँ पटक सेमिफाइनलमा स्थान बनाएका छन् ।
३९ वर्षीय जोकोभिचले आफूभन्दा १४ वर्ष कान्छा क्यानडाका फेलिक्स ओजे-अलियासिमेलाई ५ घण्टा १५ मिनेटसम्म चलेको रोमाञ्चक पाँच सेटको प्रतिस्पर्धामा ७–६ (१०), ३–६, ६–३, ६–७ (४), ७–६ (४) ले पराजित गरे । यससँगै उनले सन् २००८ मा रेनर शुटलर र अर्नो क्लेमेन्टबीच भएको ५ घण्टा १२ मिनेटको क्वार्टरफाइनलको कीर्तिमान तोडे । यो जितसँगै जोकोभिच लगातार आठौँ पटक विम्बल्डनको सेमिफाइनलमा पुगेका छन् । उनले लगातार सात पटक सेमिफाइनल खेलेका रोजर फेडेररको कीर्तिमान पनि उछिनेका छन् ।


निर्णायक पाँचौँ सेटको सुपर टाइब्रेकमा भएको २२ प्रहारको लामो र्याली खेलको मोड बन्यो। त्यसमा जोकोभिचले ९–४ को अग्रता बनाएपछि अर्को अंक जित्दै सेमिफाइनल यात्रा तय गरे ।

खेलपछि २४ पटकका ग्रान्ड स्लाम विजेता जोकोभिचले आफू यस्ता ऐतिहासिक क्षणका लागि अझै टेनिस खेलिरहेको बताए । युवा खेलाडीसँग अझै प्रतिस्पर्धा गर्न सक्नु आफ्ना लागि सुखद अनुभूति भएको उनको भनाइ थियो ।
अब सेमिफाइनलमा जोकोभिचको सामना विश्व नम्बर एक तथा साविक विजेता इटालीका यानिक सिनरसँग हुनेछ । सिनरले जर्मनीका यान लेनार्ड स्ट्रफलाई ७–५, ७–६ (४), ६–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् ।

खेलका क्रममा जोकोभिचको बायाँ खुट्टाको गोलीगाँठो र पिँडुलामा समस्या देखिएपछि उनले उपचारसमेत गराएका थिए । दोस्रो सेटपछि सेन्टर कोर्टको छाना बन्द गर्ने निर्णयप्रति पनि उनले असन्तुष्टि जनाउँदै बाहिर पर्याप्त उज्यालो रहेकाले खेल जारी राख्न सकिने बताएका थिए।





