ध्रुवे हात्तीलाई नियन्त्रण लिई रेडियो कलर गरिने

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रण गर्न अनुगमन सुरू गरिएको छ । गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमण परी आमा-छोराको ज्यान गएपछि  ध्रुवे हात्तीको खोजी शुरु गरिएको हो ।

चितवनको माडी नगरपालिका वडा नम्बर १ घर भइ  हाल भरतपुर महानगरपालिका २३ बेलहट्टा २५ वर्षिया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको थियो ।

हात्तीलाई नियन्त्रणमा लिन निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरी चौबीसै घण्टा अनुगमन गरिरहेको कृषि वन तथा पर्यावरण मन्त्रालयले जानकारी दिएको छ । हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेको खण्डमा डार्ट गरी रेडियो कलर जडान गर्ने तयारी छ ।रेडियो कलर जडान गरेर  हात्तीलाई चौबीसै घण्टा निगरानी गरिने बताइएको छ ।

हात्तीको आक्रमणमा मृत्यु भएकालाई प्रति मृतक १० लाखका दरले जम्मा २० लाख रुपैयाँ राहतस्वरूप प्रदान गरिएको मन्त्रालयले जनाएको छ । यसका अतिरिक्त राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट प्रतिमृतक ५० हजारका दरले थप १ लाख रुपैयाँ समेत पीडित परिवारलाई उपलब्ध गराइसकिएको मन्त्री गिता चौधरीले जानकारी दिएकी छन् ।