
इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय सहयोगलाई थप व्यापक बनाउने सहमति भएको छ । दुई नेताबीच भएको वार्तामा राजनीति, व्यापार, सुरक्षा, शिक्षा, स्वास्थ्य, ऊर्जा र संस्कृति लगायतका प्रमुख क्षेत्रहरूमा सहकार्य सुदृढ गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको इण्डोनेसिया भ्रमणका क्रममा जाकार्तामा भएको उक्त उच्चस्तरीय वार्तामा दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने सहमति जुटेको हो । इन्डोनेसियाली सरकारी सञ्चार निकायले जारी गरेको विज्ञप्तिअनुसार यो भ्रमणले दुई मुलुकबीचको विस्तृत रणनीतिक साझेदारीलाई ठोस र पारस्परिक हितका आधारमा अघि बढाउने लक्ष्य राखेको छ ।


बैठकपछि राष्ट्रपति सुबियान्तोले भन्नुभयो, ‘यो भ्रमणले हाम्रा दुई देशबीचको रणनीतिक साझेदारीलाई थप प्रभावकारी र लाभदायक बनाउने साझा प्रतिबद्धतालाई उजागर गरेको छ ।’

वार्ताका क्रममा दुवै देश उच्चस्तरीय राजनीतिक संलग्नता बढाउन, द्विपक्षीय परामर्श संयन्त्रलाई मजबुत तुल्याउन र संस्थागत सम्बन्धलाई कसिलो बनाउन सहमत भएका छन् । साथै, ‘भारत–इन्डोनेसिया सुरक्षा संवाद’ मार्फत आतंकवाद विरुद्धको सहकार्यलाई थप सशक्त बनाउने प्रण समेत गरिएको छ । यसैगरी, रक्षा क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै दुई देशबीच ‘ब्रह्मोस’ मिसाइल प्रणाली र हावाबाट हावामा प्रहार गर्ने मिसाइल सहकार्यसम्बन्धी विभिन्न सम्झौताहरू समेत सम्पन्न भएका छन् । प्रधानमन्त्री मोदीको यस भ्रमणले दक्षिण एशिया र दक्षिण–पूर्वी एशियाका दुई ठूला अर्थतन्त्रबीचको कुटनीतिक तथा सामरिक सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।




