केन्याको आधुनिक पूर्वाधारमा ‘तलन्ता स्पोट्र्स सिटी’ कोशेढुङ्गा सावित हुनेः उप–राष्ट्रपति किन्डिकी

केन्याका उपराष्ट्रपति किथुरे किन्डिकीले नैरोबीमा निर्माणाधीन ‘तलन्ता स्पोट्र्स सिटी’ को निरीक्षण गर्दै यस परियोजनालाई देशको आधुनिक पूर्वाधार विकासमा एक ऐतिहासिक कोशेढुङ्गाको रूपमा चित्रण गर्नुभएको छ । निर्माण स्थलको भ्रमण गर्दै उपराष्ट्रपति किन्डिकीले अहोरात्र खटिएका कामदारहरूको प्रशंसा गर्नुभयो ।

उहाँले देशको सामाजिक–आर्थिक प्रगतिलाई सुदृढ बनाउन यस फ्ल्यागसिप परियोजनाको भूमिका महत्वपूर्ण रहनेमा जोड दिनुभयो । सो अवसरमा बोल्दै उपराष्ट्रपति किन्डिकीले सन् १९८७ मा कासारानी अन्तर्राष्ट्रिय खेलकुद केन्द्र निर्माण भएयता केन्यामा लामो समयसम्म अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुन नसकेको स्मरण गर्नुभयो ।

‘चाइना रोड एण्ड ब्रिज कर्पोरेसन’ द्वारा निर्माणाधीन यो रङ्गशाला ६० हजार दर्शक क्षमताको रहनेछ ।

फिफाको मापदण्डअनुसार निर्माण भइरहेको यस आधुनिक रङ्गशाला सन् २०२७ मा आयोजना हुने अफ्रिका कप अफ नेसन्सको उद्घाटन र समापन समारोहका साथै मुख्य प्रतिष्पर्धाका लागि प्रमुख स्थलका रूपमा प्रयोग गरिनेछ ।