
कायरोस्थित अरब लिग (एएल) ले इजरायली अधिकारीहरूले महासचिव नबिल फहमीलाई कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रको प्रश्तावित भ्रमण गर्न अनुमति नदिएको जानकारी दिएको छ । महासचिव फहमीले बुधवार वेस्ट बैंकको रामल्लाह शहरमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग भेट्ने कार्यक्रम तय भएको थियो ।
उक्त भ्रमण प्यालेस्टिनी जनताप्रति ऐक्यवद्धता र समर्थन प्रकट गर्न लक्षित रहेको अरब लिगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पदभार ग्रहण गरेपछिको पहिलो आधिकारिक वैदेशिक भ्रमणका रूपमा फहमीले प्यालेस्टिनी क्षेत्रलाई रोज्नुले अरब विश्वमा यस मुद्दाको केन्द्रियता र प्राथमिकतालाई उजागर गरेको विज्ञप्तिमा जनाइएको छ ।


अरब लिगले प्यालेस्टिनी जनताविरुद्ध भइरहेका निरन्तरका उल्लंघनका लागि इजरायललाई जवाफदेही बनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।

साथै, दुई–राज्य समाधानको रक्षाका लागि न्यायपूर्ण शान्तिका पक्षधर मुलुकहरूले प्रभावकारी र दिगो कदम चाल्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । नबिल फहमीले अरब राष्ट्रहरूको सर्वसम्मत अनुमोदनपछि गत जुलाई १ मा महासचिवको पदभार ग्रहण गरेका थिए ।




