
काठमाडौँ । जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा फ्रान्ससँग हुने महत्वपूर्ण खेलअघि मोरक्कोलाई ठूलो धक्का लागेको छ । टोलीका प्रमुख आक्रमणकर्ता इस्माइल साइबारी चोटका कारण आज राति हुने क्वार्टरफाइनल खेल गुमाउने भएका छन् ।
मोरक्कोका मुख्य प्रशिक्षक मोहम्मद उआहबीले खेलअघिको पत्रकार सम्मेलनमा साइबारी समयमै पूर्ण रूपमा फिट हुन नसकेकाले फ्रान्सविरुद्ध मैदान उत्रन नसक्ने पुष्टि गरेका हुन् । यद्यपि उनको चोट गम्भीर नरहेको र विश्वकपका बाँकी खेल खेल्ने सम्भावना कायम रहेको प्रशिक्षकले बताएका छन् ।


साइबारी क्यानडाविरुद्ध अन्तिम १६ को खेलमा पहिलो हाफको २२औँ मिनेटमा तिघ्राको पछाडिको मांसपेशीमा समस्या देखिएपछि मैदानबाट बाहिरिएका थिए । त्यसपछि उनको लगातार स्वास्थ्य परीक्षण गरिएको थियो । सोमबार गरिएको एमआरआई परीक्षणले चोट धेरै गम्भीर नभएको देखाएको जनाइएको छ ।

उआहबी भने- ‘साइबारी बाहेक सबै खेलाडी उपलब्ध छन्। यो खेल उनका लागि धेरै चाँडो भयो। तर उनी प्रतियोगिताबाट बाहिरिएका भने होइनन् भन्ने आशा छ। हामी पूर्ण रूपमा तयार रहेका खेलाडीलाई मात्रै मैदानमा उतार्नेछौँ ।’
यस विश्वकपमा साइबारी मोरक्कोका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक हुन्। उनले समूह चरणमा ब्राजिलविरुद्ध पहिलो गोल गरेका थिए भने स्कटल्यान्डविरुद्ध निर्णायक गोल र हाइटीविरुद्ध बराबरी गोल गरेका थिए । नेदरल्यान्ड्सविरुद्ध नकआउट चरणमा टाइब्रेकरमा उनले विजयी पेनाल्टी प्रहार गर्दै टोलीलाई अर्को चरणमा पुर्याएका थिए । नेदरल्यान्ड्सको शीर्ष डिभिजनमा लामो समय खेलेका साइबारीका लागि त्यो प्रदर्शन विशेष मानिएको थियो ।

विश्वकप सुरु हुनुअघि मात्रै उनी करिब ५ करोड युरोमा जर्मनीको प्रतिष्ठित क्लब बायर्न म्युनिखमा आबद्ध भएका थिए । यससँगै उनी मोरक्कोका दोस्रो सबैभन्दा महँगा फुटबल खेलाडी बनेका थिए ।
साइबारीको स्थानमा क्यानडाविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका सुफियान रहिमी फ्रान्सविरुद्ध सुरुआती टोलीमा रहने सम्भावना बलियो देखिएको छ ।

प्रशिक्षक उआहबीले आफ्नो टोलीमा पर्याप्त गहिराइ रहेको बताउँदै सुरुआती टोलीमा नपरेका खेलाडीले पनि खेलको नतिजा बदल्न सक्ने विश्वास व्यक्त गरे । उनले भने- ‘प्रतियोगितामा धेरै टाढासम्म पुग्न सबै खेलाडीको आवश्यकता पर्छ । सुरुआती टोलीमा नपरेका खेलाडीले पनि मैदानमा आएपछि खेलको दिशा परिवर्तन गर्न सक्छन् । यही हाम्रो सबैभन्दा ठूलो बल हो र यसले हामीलाई थप आत्मविश्वास दिएको छ ।’
मोरक्कोका सेन्ट्रल रक्षक चादी रियाद पनि चोटका कारण क्यानडाविरुद्ध खेल्न सकेका थिएनन् । तर उनी फ्रान्सविरुद्ध मैदानमा फर्कने सम्भावना बढेको छ । उनको अनुपस्थितिमा खेलेका रेदुआन हलहालले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि रियादको पुनरागमन टोलीका लागि राहतको विषय बनेको छ ।
मोरक्कोले फ्रान्ससँग विश्वकपमा पछिल्लोपटक २०२२ को सेमिफाइनलमा प्रतिस्पर्धा गरेको थियो । त्यसबेला फ्रान्ससँग पराजित हुँदै मोरक्कोको ऐतिहासिक यात्रा टुंगिएको थियो । यद्यपि अफ्रिकी राष्ट्रका रूपमा विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो टोली बनेर मोरक्कोले इतिहास रचेको थियो ।
यसपटक मोरक्को त्यही हारको बदला लिँदै पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुनः स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ भने फ्रान्स लगातार तेस्रो पटक सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।





