महेश र अञ्जनालाई लिएर शर्मिलाले घोषणा गरिन् फिल्म ‘आशा’

काठमाडौँ । नेपाली फिल्म ‘आशा’ निर्माण हुने भएको छ । आज काठमाडौँमा एक समारोहको आयोजना गर्दै उडान स्टुडियोको लगानीमा फिल्म निर्माण हुने घोषणा गरिएको हो ।  शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्मको निर्देशन राजिव गुरुङले गर्नेछन् । अग्रज प्राविधिकलाई सम्मान गर्दै घोषणा गरिएको उक्त कार्यक्रममा फिल्मको विषयवस्तु, कलाकारसँगै प्राविधिकको परिचय गराइयो ।

११ जना बटुकहरूद्वारा स्वस्तिशान्ति वाचन गर्दै सुरुआत फिल्मको नाम र कलाकारको परिचय गराइएको थियो । उक्त फिल्ममा कलाकारको रुपमा महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मकी निर्मात्री शर्मिला थापाले एउटा परिवारको कथालाई पर्दामा ल्याउन लागिएको जानकारी दिईन् ।

उनले भनिन्, ‘आशा पूर्णरुपमा पारिवारिक फिल्म हो । हामीलाई अहिले परिवारसँग समय बिताउने पनि फुर्सद हुँदैन, छैन । तर, त्यहि परिवार अपूर्ण हुँदा नभएको सदस्यको महत्व झल्किन्छ, महसुश हुन्छ । यो एउटा परिवारको बालकदेखि वृद्धसम्मका दर्शकले हेर्नुपर्ने फिल्म बन्नेछ । हामीले विदेशीलाई समेत हाम्रो कथा गर्व साथ देखाउन सक्ने गरी आफनै कथालाई पर्दामा ल्याउँदैछौँ ।’

उनले फिल्मको बारेमा आगामी दिनमा विस्तृत जानकारी दिने बताइन । निर्देशकसँगै कथाकार रहेका राजिव गुरुङले फिल्मले मनोरन्जनसँगै दिने संदेश महत्वपूर्ण रहेको बताए । उनले फिल्मलाई मनदेखि नै तयार गर्न लागिएको बताए ।

‘यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म लैजानु पर्छ भन्ने लागेर नै फिल्ममा ल्याउँदैछौँ । एउटा मनछुने पारिवारिक कथामा फिल्म तयार हुँदैछ, अहिले हामीले घोषणा गर्दैछौँ, यसको छायांकन सकिएपछि बाँकि जानकारी दिनेछौँ’, उनले भने ।

अभिनेता महेश त्रिपाठीले फिल्मको विषयले आकर्षित गरेर फिल्ममा जोडिएको बताए । ‘यसको कथा बनिरहेका भन्दा फरक छ, एउटा अभिनेतालाई राम्रो कथाको लोभ लाग्छ नै, त्यसैले यसमा जोडिएको छु । यो फिल्मले फिल्मका रुपमा दिने मनोरन्जनसँगै हामीलाई केही दिन्छ’, अभिनेता त्रिपाठीले भने ।

फिल्ममा पुराना प्राविधिकलाई नगद राशिसहित सम्मान गरिएको थियो । विसं २०४६ सालमा प्रदर्शन भएको चलचित्र ’अन्याय’ मार्फत भेषभूषामा काम गर्नुभएका प्राविधिक कमल मिश्रलाई नगदराशी ५१ हजारसहित दोसल्लाह ओढाएर चलचित्रकी निर्मात्री थापा, निर्देशक गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रुपमा सम्मान गरे ।

फिल्ममा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।

यस्तै, फिल्ममा मुख्य सहायक निर्देशक रामकुमार श्रेष्ठ, सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।

images