
काठमाडौं । इरानले आफ्नो एकमात्र बुशेहर आणविक विद्युत् केन्द्र नजिकै अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ । इरानी अधिकारीका अनुसार स्थानीय समयअनुसार दिउँसो करिब १२ बजे उक्त आक्रमण भएको हो । यो आक्रमण अमेरिकी केन्द्रीय कमाण्डले आफ्नो सैन्य कारबाही समाप्त भएको दाबी गरेको केही घण्टापछि भएको बताइएको छ ।
अमेरिकी केन्द्रीय कमाण्डका अनुसार पछिल्ला दुई दिनमा इरानका १७० भन्दा बढी सैन्य लक्ष्यमा मिसाइल र ड्रोन आक्रमण गरिएको छ । आक्रमणमा हवाई प्रतिरक्षा प्रणाली, ड्रोन तथा मिसाइल भण्डारण स्थल, तीव्र गतिका सैन्य डुङ्गा र होर्मुज जलडमरूमध्य आसपासका तटीय सैन्य अड्डालाई निशाना बनाइएको जनाइएको छ ।


यसको प्रत्युत्तरमा इरानले कतार, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि ड्रोन आक्रमण गरेको जनाएको छ । इरानी सेनाका अनुसार कुवेतको प्याट्रियट मिसाइल प्रणाली, कतारको प्रारम्भिक चेतावनी दिने उपग्रह एन्टेना तथा बहराइनमा रहेको अमेरिकी सेनाको इन्धन भण्डारण केन्द्रलाई निशाना बनाइएको दाबी गरिएको छ ।

इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले अमेरिकी सैन्य कारबाहीका कारण होर्मुज जलडमरूमध्यमा समुद्री यातायात पूर्ण रूपमा सामान्य अवस्थामा फर्कन कठिन हुने जनाएको छ । युद्धअघिको अवस्थाको तुलनामा हाल जहाजहरूको आवागमन करिब ५० प्रतिशतसम्म मात्रै पुनःस्थापित भएको भन्दै त्यसको जिम्मेवारी अमेरिकाको हस्तक्षेपलाई दिएको छ ।
यसैबीच, इरानी समाचार संस्था आईएसएनएका अनुसार सिरिक सहरमा भएको अर्को अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । साथै, होर्मुज जलडमरूमध्यस्थित बन्दर अब्बास सहरमा पुनः धेरै विस्फोटका आवाज सुनिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाले भने यी पछिल्ला आरोपबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।





