राहदानी विभाग अगाडि आफैलाई आगो लगाएका गणेश नेपालीलाई उपचारका लागि भारत लगिदै, खर्च सरकारले बेहोर्ने

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ ।

हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

​बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू गएराती वीर अस्पताल पुगेका थिए । उनीहरूले वीर अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिएका थिए ।

चिकित्सकहरूसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिएका छन् ।