
भारतको पश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षाका कारण फोहोरको विशाल थुप्रो एउटा तीनतले भवनमाथि खस्दा १६ जना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार बुधवार भएको उक्त दुर्घटनाका बेला भवनभित्र कुल २० जना रहेका थिए ।
तीमध्ये चार जना भागेर ज्यान जोगाउन सफल भए पनि बाँकी १६ जना कर्मचारीहरू भित्रै फसिरहेको बताइएको छ ।


घटना लगतै प्रहरी, दमकल विभाग र विपद् व्यवस्थापनको टोली उद्धारका लागि घटनास्थल पुगेका छन् ।

लगातारको वर्षाका कारण फोहोरको थुप्रो खुकुलो भई भवनमाथि खसेको प्रारम्भिक अनुमान गरिएको छ । भारतमा मनसुन शुरु भएसँगै विगत केही दिनदेखि महाराष्ट्रका पुणे र मुम्बई लगायतका क्षेत्रमा भइरहेको भारी वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ ।




